संक्रमित बढेपछि आइसोलेसन बनाउँदै मेयर फोरम


ईश्वरराज ढकाल, काठमाडौं
कोरोना महामारी समुदायस्तरमा फैलिन सक्ने आशंका गर्दै उपत्यकाका १८ स्थानीय निकायले निषेधाज्ञालाई निरन्तरता दिएर पीसीआर परीक्षणलाई बढाउने जनाएको छ । उपत्यकाका मेयर फोरममा आबद्ध १८ वटै स्थानीय निकाय आइसोलेसन तयार गर्न स्थान खोजीका क्रममा रहेका छन् ।

संक्रमितको संख्या झन्डै ३ हजार पुग्न थालेपछि चिन्तित देखिएका स्थानीय निकायका मेयरहरुले नगरपालिकास्तरमा नै आइसोलेसन बनाउन शुरु गरेका छन् । संघीय सरकारले आइसोलेसन व्यवस्थापन गर्नुपर्ने अडानमा रहेका १८ वटै नगरपालिकाका मेयरहरु आइसोलेसन बनाउने तयारीमा छन् । उनीहरुले संक्रमितलाई कुनै समस्या हुन नदिने बताएका छन् ।

फोरमको हरेक बैठकमा मेयरले सरकारले आइसोलेसन बनाउने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्नुपर्ने बताउँदै आएका थिए । पछिल्लो एक सातायता काठमाडौं र ललितपुर महानगरपालिकासहित १६ नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आफैले आइसोलेसन निर्माण गर्न शुरु गरेका छन् ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकार र स्थानीय तह मिलेर आइसोलेसनको व्यवस्थापन भइरहेको बताउनुभयो । उहाँले संघले सञ्चालन गरेका आइसोलेसनलाई कामपाले सहयोग गर्ने र अपुग भएको अवस्थामा थप व्यवस्थापन गर्ने बताउनुभयो ।

उहाँ हिजो मंगलबार आइसोलेसन निर्माण गर्ने स्थानको विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा पुग्नुभएको थियो । देशकै ठूलो काठमाडौं महानगरले आफ्नो आइसोलेसन बनाउन नसकेको भन्दै तीव्र विरोध भएपछि मेयर शाक्यसहितको टोलीले बल्ल प्रक्रिया शुरु गरेको छ ।

विशेष गरी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आइसोलेसन तयार गर्न मेयर फोरमलाई आग्रह गरेपछि सबै स्थानीय तहले आइसोलेसन निर्माणकार्यलाई तीव्रता दिएका हुन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बलम्बुस्थित सशस्त्र र मनमोहन अस्पतालमा ७ सय बेडको आइसोलेसनलाई स्थानीय तहले पनि प्रयोग गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘थानकोट नगर अस्पतालमा १७ र अपुग भए थानकोटस्थित श्रीकृष्ण माविमा रहेको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने तयारी गरिरहेका छौं ।’ उहाँका अनुसार चन्द्रागिरि नगरपालिकामा आइसोलेसनको अभाव हुन नदिने विभिन्न विकल्प अघि बढाइएको छ । त्यस्तै कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले सय बेडको आइसोलेसन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले यो नगरपालिकाभित्र कोरोना संक्रमित देखिएकालाई उपचारमा कमी हुन दिएका छैनौं ।’ सो नगरपालिकाले मूलपानीस्थित एक अस्पताललाई २४सै घण्टा कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरेको जनाएको छ ।

उपत्यका कोरोनाको हट स्पट बन्न थालेपछि स्थानीय निकायले ठूला विद्यालय, पार्टी प्यालेस, कार्यक्रम आयोजना हुने हल, विभिन्न संघसंस्थाका स्वामित्वमा रहेका भवन, विद्यालयका होस्टललाई आइसोलेसन बनाउने तयारी गरेको छ ।

ललितपुरमा मेयर चिरिबाबु महर्जनले आवश्यकताका आधारमा महानगर क्षेत्रमा आइसोलेसन व्यवस्थापन गरिने बताउनुभयो । उहाँले मेयर फोरमको बैठकले आवश्यकताका आधारमा सबै क्षेत्रमा आइसोलेसन बनाउने निर्णयानुसार कोरोना संक्रमितको उपचारमा कुनै कमी हुन नदिने दाबी गर्नुभयो ।

पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी काठमाडौं महानगरपालिकाका वडामा संक्रमित फेला परेका छन् । जिल्लागतरुपमा काठमाडौंमा २ हजार ३ सय ८६ जना, ललितपुरमा ३ सय २७ जना र भक्तपुरमा २ सय ६५ जनामा संक्रमण देखिएको छ ।

मेयर फोरमले दिएको जानकारीअनुसार संक्रमितमध्ये ५१ प्रतिशत स्थानीयबासीले यात्रा गरेका छैनन् । ३० दशमलव ७ प्रतिशत व्यक्तिले यात्रा गरेका थिए ।

संक्रमितमध्ये हालसम्म काठमाडौं जिल्लामा ७ हजार ४ सय १२, ललितपुरमा १ हजार २ सय ५३ र भक्तपुरमा ६ सय ५५ गरी ९ हजार ८ सय २० जनाको कन्ट्याक्ट टे«सिङ गरिएको छ ।

अहिलेसम्म प्राप्त संक्रमितले प्रत्यक्ष र अप्रत्यक्षरुपमा भेटेका उपत्यकाका करिब २८ हजार ५ सय व्यक्तिलाई पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षण गर्ने मेयर फोरमको तयारी छ ।

त्यसै गरी संक्रमितलाई राख्न इचंगुनारायणमा सुकुम्बासी भवनका चार सय कोठालाई आइसोलेसन र क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार हालसम्म प्रयोगमा नआएको सो भवनमा क्वारेन्टाइनसहित आइसोलेसन बनाइएको हो । उहाँले संक्रमित राख्न आइसोलेनका रुपमा नेसनल मेडिकल कलेजसँग प्रयोग गर्ने तयारी भइरहेको तथा ११ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताउनुभयोे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पशुपति क्षेत्र विकास कोषमा रहेको धर्मशाला र राधास्वामी सत्संग व्यासमा ८ सय जनाका लागि क्वारेन्टाइन बनाउने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार विकल्पका रुपमा राजधानी र उपत्यकाका थुप्रै स्थान पहिचान भएको र आवयकतानुसार प्रयोग गर्दै जाने तयारी भरहेको छ ।

विदेशबाट आएकालाई अनिवार्यरुपमा एक साता क्वारेन्टाइनमा राख्न उपत्यकामा करिब १ सय १५ होटल तयारी अवस्थामा राखिएको छ । विद्यालयका होस्टलसमेत प्रयोगमा ल्याउने तयारी भइरहेको छ । आवश्यकताका आधारमा उपत्यकाका क्याम्पससमेत प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको छ ।