नेपालमा कोरोना शुरुआती चरणमा


नेपाल समाचारपत्र, काठमाडौं

नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुआती चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताउनुभएको हो ।

उहाँले नेपालमा अझै संक्रमितको संख्या वृद्धि भई जटिल परिस्थिति आउने बताउनुभएको थियो । भेन्डिलियरले नेपालमा शुरुका दिनमा विदेशबाट आएका व्यक्तिबाट संक्रमण देखिएको तर अहिले ज्येष्ठ नागरिक, युवा, बालबालिकालाई समेत संक्रमण फैलिसकेको बताउनुभयो ।

उहाँले संघीयतामा समन्वय र सहकार्य महत्वपूर्ण रहेको भन्दै महामारीका बेला केन्द्रीय सरकारले मात्रै समाधान गर्न नसक्ने र यसका लागि स्थानीय सरकारको साथ, सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो । यस्तो समयमा स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा अस्पतालहरुको भूमिका पर्याप्त हुन नसक्नु प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो ।

भेन्डिलियरले नेपालमा अधिकांश अस्पताल कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

आम नेपालीलगायत नेपालमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरुले अनिवार्यरुपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरीको कायम, बेलाबेलामा साबुनपानीले हात धुनेलगायतका सुरक्षाका उपाय अपनाउन सचेत गराउनुभयो । व्यावहारिकरुपमा परिवर्तन अपरिहार्य भएकाले हरेक व्यक्तिले आफ्नो सुरक्षाका लागि जतिसुकै अप्ठ्यारो लागे पनि व्यवहार परिवर्तन गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

नेपालमा हिजो मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १ सय १ जना निको भएका छन् भने १ सय ६४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।