अवरुद्ध बेनी-जोमसोम-कोरला सडक एक महिनापछि सञ्चालनमा


प्रताप बानियाँ, म्याग्दी ।

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको १ महिनापछि पुनः सञ्चालनमा आएको छ । गएको साउन ५ गतेको अविरल वर्षापछि पूर्ण रुपमा अवरुद्ध सडक सोमबारदेखि सुचारु भएको हो ।
शर्मा गजुरमुखी जेभीले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरको पहिरोले भत्काएको सडकमा मर्मत गरेपछि मुस्ताङसँग सडक सञ्जाल जोडिएको छ ।

बेनी–जोमसोम–कोरला सडक अन्तरगत उत्तरी म्याग्दीको भूरुङ–तातोपानीदेखि मुस्ताङको कोबाङसम्म ३० भन्दाबढी स्थानमा पहिरोले क्षति पु¥याएको थियो भने १० स्थानमा जगसहित सडक बगाएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीदेखि मुस्ताङको थासाङ गाउँपालिका–४, घैपुसम्म प्याकेज नम्बर २ र थासाङ–४, घैपुदेखि थासाङ–२, कोबाङको प्याकेज नम्बर ३ सम्म सडक निर्माणको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीले सडक मर्मत गरी सञ्चालनमा आएको प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतको प्याकेज २ र ३ नम्बर क्षेत्रभित्र मात्रै भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीतर्फ अन्नपूर्ण–३, दानाको लाटीखोला, रुप्से झरना तथा काभ्रेभीरमा गरी जगसहित १० ठाउँमा सडक बगेको थियो । पहिरोले सडक अवरुद्ध बनाएको ठाउँमा पहाड कटिङ गरेर सडक बनाइएको भए पनि काभ्रेभीरमा विष्फोटक पदार्थको प्रयोग गरी सडकको ट्र¥याक खुलाइएको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य चन्द्रमोहन गौचनले बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मुस्ताङ प्रवेश गर्ने सडक मार्ग बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा जनतालाई धेरै सास्ती भएको अवस्थामा सबैको चासो र खटाइले गर्दा छिट्टै नै सडक सञ्चालनमा आएको बताउनुभयो । काभ्रेभीरमा मात्रै झण्डै ५० मिटर सडक विष्फोटक पदार्थको प्रयोगमा (व्लाष्टिङ) गरेर पुरै नयाँ तयार गरेपछि सोमबार दिउँसोबाट सडक खुलेको उहाँले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध हुँदा मुस्ताङमा उत्पादित स्याउ, आलु, रायो, गाजर, ढकायो, फापर लगायतका फलफुल तथा ताजा तरकारी बजार पठाउन समस्या भएको थियो । सडक अवरुद्ध भएकै कारणले गर्दा गएको साउन ५ गतेदेखि पूर्ण रुपमा आवतजावत बन्द हुँदा मुस्ताङीहरु नाकाबन्दीको जस्तै अवस्थामा थिए । सडक खुलेपछि सुरुको समयमा खाद्यान्नसहितका गाडीहरु मुस्ताङ प्रवेश गरेका छन् ।

अवरुद्ध सडक मर्मतपछि खुलेसँगै सवारीसाधन मात्रै नभएर पैदलयात्री तथा सर्वसाधारणलाई सहज भएको छ । बेनीदेखि जोमसोमसम्म कुल ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्ड वर्षेनी वर्षात्को समयमा पटकपटक अवरुद्ध हुने गरेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकमा यसपटक वर्षाले भने अधिकांश ठाउँमा क्षति पु¥याउनुका साथै सडक निर्माणमा समेत अवरोध गरेको छ ।