कोरोना सारेको भन्दै गर्भवती महिलामाथि कुटपिट

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कुटपिट गर्दा झापाको मेचीनगर नगरपालिका–१३ मा एक गर्भवतीसहित दुईजना घाइते भएका छन् । स्थानीय दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको आक्रमणबाट सोही ठाउँकी ७ महिनाको गर्भ रहेकी चन्द्रकता लाम्गादे र उनका श्रीमान सागर खाती घाईते भएको जिल्ला प्रहरी कार्यालय झानपाले जनाएको छ । श्रेष्ठले उनीहरुलाई गाली गलौज गर्दै निर्घात कुटपिट गरेको पीडितले बताए ।

सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएका थिए । मेचीनगर नगरपालिका बाहिरबाट आएका एकजना मान्छेसँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा पिसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए ।

घटना अनुसार क्वारेन्टाइन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गाली गलौज गर्ने गरेका थिए । दर्जीको घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गाली गलौज गर्दै श्रेष्ठले लखेटेका थिए । दर्जी भाग्दै सागरको घरमा गए । बेलुकी ८ बजे सागर र उनकी पत्नी चन्द्रकला भात खाँदै थिए ।

दर्जीलाई श्रेष्ठले जातीय अपशब्द बोलेर गाली गलौज गर्दा चन्द्रकलाले प्रतिवाद गरेकी थिइन । सोही क्रममा श्रेष्ठले सागर र चन्द्रकलामाथि कुटपिट गरेका हुन् । पीडित सागरका अनुसार ७ महिनाको गर्भ रहेकी पत्नी चन्द्रकलाको पेट, ढाड, छाती लगायतका स्थानमा श्रेष्ठ दम्पतिले कुटपिट गरेका थिए । सागरलाई पेटीले कुटपिट गरेका कारण शरिरभरी निलडाम छ ।

उनीहरु दुबै उपचाररत रहेका छन् । घटनामा संलग्न दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कुटपिट गर्नेबिरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाईमा उजुरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुबिरुद्ध कुटपिट र जातीय भेदभाव तथा छुवाछुत कसुर सजाए ऐन २०६८ अन्तर्गतको मुद्दा दर्ता गरिएको परियारले जानकारी दिइन् ।

मंगलबार जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । घाइते चन्द्रकलाको अवस्था सामान्य भए पनि गर्भमा रहेको शिशुको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै श्रीमान सागरले बताए ।

कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् । लाम्गादे एथलेटिक्सकी किर्तीमानी खेलाडी हुन् । उनले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् । कोरोना संक्रमण बढेका कारण गर्भवती उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा हाजिर गर्नेगरी प्रहरी मुख्यालयले काज बिदामा राखेको थियो । सोही क्रममा उनी मेचीनगर–१२ चारआलीमा बस्दै आएकी थिइन् ।