झापामा सुपारी तस्करी मौलायोे


भद्रपुर ।

झापामा रहेका सीमा नाकामध्ये मुख्य उत्तरी क्षेत्र वाहुण्डाँगी र दक्षिणी केचना नाकाबाट सुपारी भारत पठाउने र सुर्तीजन्य पदार्थ नेपाल ल्याउने काम भइरहेको छ । अन्य नाका भन्दा यी दुइ नाका पछिल्लो समय चर्चामा आएका छन् । जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेपनि रातको समयमा सामान वारपार हुनु प्रहरीको सम्लग्नता हुनसक्ने आशङका गरिएको छ । कोरोनाका कारण सीमा नाका बन्द भएपनि विभिन्न ठाउँको वोर्डरमा अवैध सामानको ओसार–पसार धमाधम भइरहेको छ । भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट अवैध सामानको ओसार–पसार दिनहुँ भइरहेको हो ।

केचना नाकाबाट रातमा ३ सय बोरासम्म वारपार हुने जनाइएको छ । भारतमा ८ हजार प्रतिबोरा पर्ने खैनी नेपालमा २४ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको स्थानीयको भनाइ छ । एकसय भन्दा बढी मानिसले राति यो काम गर्ने गरेको स्थानीयको दाबी छ । सो नाकमा राजवंशी थरका पुराना कारोबारी पेशेवर रहेको स्थानीयले जनाएका छन् ।

त्यसैगरी झापाको उत्तरी क्षेत्र पिलर नम्बर २३ र २४ भृकुटी सुमन चोक छेउको हाइस्कुल हुदै तिरीङ भन्ने स्थानबाट राति ११ देखी ४ बजेसम्ममा सुपारी भारत जाने गरेको छ । वाहुण्डाँगीका एक व्यापारीको घरमा गोदाम रहेको छ । त्यस्तै वाहुण्डाँगी र नकलबन्दा बिचको राइसिङ र चारु गौडा पिलर नम्बर २६ र २७ को बिचबाट पनि सुपारीको काम हुने गरेको छ । सो क्षेत्रमा सुपारी तार्न डेढ सयको हाराहारीमा कामदार खटिने गरेका छन् । साइकलमा दुइबोरा राखेर भारत लैजादै आएका छन् ।

यता कचनकवल ५ स्थित पाठामारी नाकाबाट कपडा र युरीया मलको तस्करी भइरहेको पुष्टि भएको छ । आइतबार राति स्थानीय केही युवाले भारतबाट टाउकोमा राखेर तीनजनाले ल्याउदै गरेको कपडा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाइ बुझाएसँगै त्यो नाकाबाट काम हुने पुष्टि भएको हो ।

कपडासहित स्थानीयले नियन्त्रणमा लिएका अजय यादब र च्यारु यादवलाइ समेत प्रहरीको जिम्मा लगाए भने भारतीय कारोबारी अर्जुन हलुवाइ भारततर्फ भागेका थिए ।

उनिहरुलाइ वडा नम्बर ५ का वडाअध्यक्ष महेशलाल गणेशको रोहवरमा छाडिएको थियो । प्रहरीबाट छुटेका उनीहरुले राति नै गाउँमा गएर सामान समाउने तिमीहरु को हौ भन्दै धम्काएको पीडितको भनाइ छ । सो नाकामा मुख्य कारोबारी ‘गोशखुवा’ भन्ने महमद्ददिन मियाँले चौपाया, युरिया मल,पैसा लिएर मानिस ओसार पसार गर्ने लगायतमा संलग्न हुने गरेको स्थानीयको दाबी छ । ती व्यत्ति रातभर घरमा नहुने गरेको उहाँहरुको भनाइ छ । अवैध रुपमा भित्र्याएको कपडा बरामद गरि स्थानीयले मानिससहित सशस्त्र प्रहरीमा बुझाएपनि प्रहरीले सामान राखेर मानिसलाइ छाडिदिएको थियो ।

भारतमा ३ सय प्रतिबोरा मर्ने मल नेपालमा २५ सय रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ । कपडा मात्र बरामद भएको सशस्त्र प्रहरी केचनाका इन्सपेक्टर भक्त बहादुर थापाले जनाउँनुभयो । तीन पोकामा रहेको ३९ हजार ५ सय ५० रुपैयाँ मूल्याङकन गरी भद्रपुर भन्सार बुझाइएको उहाँले जानकारी दिनुभयो ।
यस्तो अवस्थामा सुपारीको काम हुनै नसक्ने जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण प्रसाद कोइरालाले दाबी गर्नुभयो ।