बिपद् पिडितहरुको गुनासो– भूकम्पले हल्लायो, दुई महिना लामो बर्षाले भत्कायो


नेपाल समाचारपत्र, पर्वत

पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानका यामबहादुर थापाको घर २०७२ वैशाख १२ को भूकम्पले सामान्य चर्कियो । प्राविधिक मुल्यांकन अनुसार उनको घर आशिंक क्षतिमा सूचीकृत गरियो । त्यही घर गत साउन ६ गते भत्कियो । खरको छानो रहेको उनको घर निरन्तरको झरीले जगैदेखि भत्किएपछि थापा परिवार समस्यामा परेको छ । बाँसका भाटाले बारबेर गरेर बनाइएको टहरोमा हाल उनको चार जनाको परिवारले गुजारा गर्न थालेको छ ।

सरकारी अधिकारी र जनप्रतिनिधिले उहाँको भत्किएको घरको फोटो खिचेर लगेका छन् तर, सहयोग आउने र घर बन्ने कुनै ठेगान नभएको उहाँको भर्ना छ । उहाँको हातमा अहिले प्रहरीले दिएको सर्जमिन मुचुल्का मात्र छ । ‘छिमेकीको बारीमा टहरा बनाएर बसेका छौं’ उहाँले भन्नुभयो, ‘अन्नपात, लत्ताकपडा केही बाँकी रहेन । ज्यान मात्रै जोगाइयो।’ भूकम्पले चर्काएको घर झरीका कारण भत्केपछि थापा परिवार चिन्तित छ ।

सोही ठाउँकी थनकुमारी थापाको अवस्था अझै दयनीय छ । भूकम्पले क्षतिग्रस्त भएको झुपडी टालटुल गर्नुभएको छ तर कतिबेला घर भत्किने हो भन्ने चिन्ता छ । चारैतिरबाट भित्ता चर्किएर पल्टिने अवस्थामा छ । तैपनि आफू जोखिमपूर्ण रुपमा बस्दै आएको उहाँले भन्नुभयो ।

‘बेस्सरी झरी पर्दा बाहिर निस्किएर बस्छु’ उहाँले भन्नुभयो ‘डेड महीनादेखि राति राम्ररी निदाउन पाएको छैन ।’ उहाँको घर भूकम्पले चर्किएर बस्नै नहुने भए पनि क्षतिको मूल्यांकन भएको थिएन । त्यतिबेला नगरपालिकाबाट एउटा त्रिपाल पाएकी थिइन । त्यही त्रिपाल छानोमा राखेर घरभित्र पस्ने पानी तर्काए पनि भित्तामा पर्ने पानीको निकास गर्न सकेकी छैनन। निरन्तरको वर्षाले थप क्षति पु¥याएपछि उहाँको घर जोखिमपूर्ण बनेको छ ।

धनकुमारी र यामबहादुरको मात्रै होइन, स्थानीय माया रिजाल, योगप्रसाद भुसाल, लालबहादुर थापा, देवबहादुर सार्की, सूर्यबहादुर श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ लगायतको घर समेत यो बर्खामा बस्नै नमिल्नेगरी चर्किएका छन्। तर, तत्काल नयाँ घर बनाउन नसक्ने विपन्न परिवारहरु सरकारी सहयोगकोे आशामा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गुनासो भरेका उनीहरु नयाँ घर बनाउन अनुदान आउनेमा त्यति विश्वस्त पनि देखिँदैनन।

बर्खामा स्थानीयवासीको घर भत्केपछि फलेवास नगरपालिकाले सबै घरमा पुगेर अनुगमन गरेको छ । नगरपालिकाले यो बर्खामा ३६ ओटा घर पूर्णरुपमा क्षति भएको बताएको छ । सरकारले बाढी पहिरो तथा भूक्षयका कारण क्षति भएका घर पुनर्निर्माणका लागि पनि भूकम्पले भत्काए सरह नै अनुदान दिने सुनेका जनप्रतिनिधिहरु संघीय सरकारको सहयोग पर्खिरहेको बताउँछन ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले सरकारले बाढीपहिरोले भत्केका घरका लागि भूकम्पले भत्केको सरह अनुदान दिने निर्णय गरेकाले पीडितलाई तत्काल कुनै राहतको कार्यक्रम सार्वजनिक नगरिएको बताउनुभयो । ‘पुननिर्माण प्राधिकरणसँग हाम्रो कुराकानी भइरहेको छु’ उहाँले भन्नुभयो ‘पीडित परिवारलाई प्राधिकरणले सहयोग नगरे कसरी सहयोग गर्ने भनेर सोचिरहेका छौं ।’