कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो


यमलाल भुसाल, बुटवल ।
गत साउन ३२ गते कञ्चनको प्रगती माध्यमिक बिद्यालयका अभिभावक तथा बिद्यार्थीहरुद्धारा गाउँपालिकाको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि खोलिएको छ ।गाउँपालिकाले सुरक्षाकर्मी र जनप्रतिनिधीकोे रोहवरमा ताला खोलेर नियमित कार्य शुरुगरेको छ ।

गत साउन २१ गते कञ्चन गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाले गजेडी माध्यमिक बिद्यालयका मा.बि. तहका स्थायी शिक्षक गणेश पौडेललाई प्रगती माध्यमिक बिद्यालयमा र प्रगती माध्यमिक बिद्यालयका मा.बि. राहत शिक्षक खेम बहादुर घर्ति मगरलाई गजेडी मा.बि.मा काज सरुवा गर्ने निर्णयका बिरुद्ध प्रगती माध्यमिक बिद्यालयका अभिभावक तथा बिद्यार्थीहरुले शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।

कञ्चन गाउँपालिकाले प्रगती माध्यमिक बिद्यालयमा नमुना माध्यमिक बिद्यालयको मापदण्ड अनुसार मा.बि. स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाई नमुना माध्यमिक बिद्यालयको हैसियतले प्राप्त गर्ने सेवा सुबिधालाई निरन्तरता दिन दुई बिद्यालयका शिक्षकलाई काज सरुवा गर्ने निर्णय गरिएको भएपनि भइरहेको शिक्षकलाई सरुवा गर्न नपाइने भन्दै बिरोध स्वरुप तालावन्दी गरेका थिए ।

प्रगती माध्यमिक बिद्यालय र शिक्षा शाखामा गरिएको ताला बन्दी सहमती र समझदारी बिना बल प्रयोग गरेर ताला फोडिनुले गाउपालिकाले समस्यालाई बल्झाउने तर्फ लागेको आन्दोलनरत पक्षका दुर्गा बहादुर कार्कीले बताउनु भयो।

यस्तै एकतर्फी रुपमा बल प्रयोग गरेर ताला खोलिएको बिषयबारे गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सहमतीको प्रयास गरिएकोमा आन्दोलनरत पक्षबाट सहमतीमा आउने अवस्था नदेखिएपछि प्रशासनको रोहवरमा ताला खोलिएको बताउनु भएको छ ।

उहाँले सोही भवनमा रोजगार केन्द्रको कार्यालयरहेको र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तत्काल संचालन गर्नको लागि आवश्यक प्रक्रिया तयार गर्नु पर्ने भएकोले आन्दोलनरत पक्षसंगको कुराकानी पश्चात सुरक्षा प्रशासनको रोहवरमा ताला खोलिएको दावि गर्नु भयो ।

प्रगती माध्यमिक बिद्यालयका राहत शिक्षकसंग स्थायी दरबन्दी शिक्षक सरुवाको निर्णयको नेपाल राहत शिक्षक केन्द्रिय समिति र जिल्ला समितिले समेत बिरोध गदै आएको छ ।