पीसिआर परिक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन


यमलाल भुसाल,बुटवल ।

कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकिकृत भिडियो संवाद गर्नुभयो । मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताउनुभयो ।

एकिकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पीसिआर परिक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने बताउनुभयो ।

उहाँले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवत जावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न निर्देशन दिनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यम मार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्ति सुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समिक्षा गरी जहाँ कमजोरी छ,त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत रुपमा भएका काम र समस्या प्रस्तुत गर्नुभयो । साथै तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।