पुनर्निर्माण सम्बन्धी राष्ट्रिय परिसंवाद सुरु


न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवाद आजदेखि सुरु भएको छ ।भर्चुअल माध्यमबाट आयोजना गरिएको परिसंवादमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा निजी आवास, शैक्षिक संस्था लगायतको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताउँदै प्राधिकरण अनुभव र सिकाईहरुको अभिलेखीकरणको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको सफलता, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई समेत उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ९० प्रतिशतभन्दा बढी लाभग्राहीहरु पुनर्निर्माण प्रक्रियामा प्रवेश गरी या त आफ्नो घर पुनर्निर्माण गरिसकेको वा पुननिर्माण गरिरहेको उल्लेख गर्नुभयो ।

७ लाख ९० हजार लाभग्राहीले अनुदान सम्झौता गरेकोमा ६ लाख ३ हजार अर्थात् ७६ प्रतिशत लाभग्राहीले अनुदानको तेस्रो किस्ता लिइसकेका छन् । पाँच लाखभन्दा बढी लाभग्राहीले घर पुनर्निर्माण सम्पन्न गरिसकेका छन् ।प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवाद कार्यक्रम पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा भएका कामहरुको बारेमा व्यवस्थित छलफल गर्ने अवसर हुने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी एवं आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

परिसंवादको पहिलो दिन निजी आवास पुनर्निर्माणका विभिन्न आयाम समेटिएका १५ वटा कार्यपत्रहरु प्रस्तुत भएका छन् ।पहिलो सत्रमा निजी आवासको स्ट्रक्चरल इञ्जिनियरिङ तथा प्रबलीकरणका विषयमा लिभा श्रेष्ठ, डा. निकोला जिओर्दानो, निमा स्थापित र सन्तोष यादवले कार्यपत्रहरु प्रस्तुत गर्नुभयो ।

त्यस्तै, दोस्रो सत्रमा ग्रामीण आवास पुनर्निर्माण सम्बन्धमा प्रेम उपाध्याय सुवेदी, देवराज गौतम, गौरव कुमार पन्थी, डा। क्रेस्टिन रेगर र रुपलाल ऐडीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।तेस्रो सत्रमा शहरी आवास पुनर्निर्माणसम्बन्धमा छलफल भयो । यो सत्रमा कार्यपत्र प्रस्तुत गर्नेहरुमा डा। चन्द्र बहादुर श्रेष्ठ, सुवास घिमिरे, आस्था शिवाकोटी, डा. राजन सुवाल र मनिन्द्र मल्ल हुनुहुन्थ्यो ।

ती सत्रहरुको क्रमशः डा. हरि राम पराजुली, डा. चन्द्र बहादुर श्रेष्ठ र किशोर थापाले सहजीकरण गर्नुभएको थियो ।आगामी नोभेम्बरमा गर्ने भनि तय गरिएको नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको एक अंशको रुपमा यो परिसंवाद आयोजना गरिएको हो ।कार्यक्रम भदौ ११ गतेसम्म चल्नेछ ।