नेकपा रुपन्देहीको बैठक : आइसोलेशनको क्षमता बढाउन माग


यमलाल भुसाल,बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देही जिल्ला कमिटीले रुपन्देहीमा जारी लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको छ । जिल्ला कमिटी कार्यालयको बुटवलमा बसेको बिस्तारित बैठकले जिल्ला सिसिएमसीको निर्णयलाई कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

कोभिड १९ महामारी सम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना र भौतिक दुरी कायम गरी सम्पन्न भएको बैठकमा कोरोना महामारीले जिल्लामा पारेको प्रभावको गम्भीर समिक्षा भएको नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिनु भयो । बैठकले स्थानीय पालिकाहरूलाई समयमै क्वारेन्टाईन र आईसोलेशनको क्षमता बढाउने काम तत्काल अघि बढाउन आग्रह गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई सहयोगात्मक भूमिका निर्वाह गर्न निर्देशित गरेको छ ।

त्यसैगरी बैठकले प्रदेश सरकारलाई भेन्टिलेटर, आईसियू सहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन आग्रह गरेको छ ।
बैठकले जिल्लाका बिभिन्न ठाउमा देखिएका संक्रमितहरूप्रति सकारात्मक, सहयोगी र मानवीय व्यवहार गर्नु सबैको दायित्व भएको महशुस गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता,सामाजिक संघ संस्था र टोलवासीहरूलाई आग्रह गरेको प्रवक्ता चापागाईले जानकारी दिए ।

बैठकले पार्टी केन्द्रको विवादका सम्बन्धमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले समाधानका लागि निष्कर्ष सहितको प्रतिवेदन बुझाएकोमा कार्यकर्तामा उत्साह देखिएको ठहर गर्दै कार्यदलप्रति धन्यवाद व्यक्त गरेको छ । जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य लिला गिरी रुपन्देही सहईन्चार्ज एकराज बिक, प्रदेश कमिटी संगठन बिभाग प्रमुख भूमिश्वर ढकाल, प्रदेश कमिटी सदस्य पुरन गुरूङ, जिल्ला कमिटी सचिव निर्मल जिसीलगायतले विभिन्न विषयमा धारणा राखेका थिए ।