कोरोनाबाट जोगिँदै रथ तान्न यस्तो खाका

राष्ट्रपति र प्रधानमन्त्रीमा ध्यानाकर्षण

28
Shares

० सुनील महर्जन, ललितपुर

कोरोना संक्रमणबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालना गरी रातो मच्छिन्द्रनाथको रथ तान्ने खाका तयार गरिएको छ ।

कोरोना संक्रमणको बेला रथयात्रा हुने/नहुने चिन्ता र चासो सबैतिरबाट व्यक्त भइरहेको स्थितिमा सो खाका तयार पारिएको हो । रथयात्रा संग महत्वपूर्ण पुजाआजा मात्र सम्पन्न गर्ने गरी पानेजु, ज्योतिषी र सरारकारवालाले रथयात्राको खाका तयार गरेको बताइएको छ ।सो खाका अनुसार रथयात्रा अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, गुठी संस्थान केन्द्रीय कार्यालय र ललितपुर शाखा, जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका लगायत विभिन्न निकायमा पत्राचार गरिसकेको छ ।

‘ भिड नहुने ,परम्परा, धर्म र सांस्कृतिक दृष्टिले नगरी नहुने पुजाआज सम्पन्न हुने गरी तयार गरिएको खाका अनुसार रथयात्राको लागि समन्वय गरिदिने पत्राचार गरेका छौं ।’ दैवज्ञ. ज्योतिषी कीर्तिमदन जोशीले भन्नुभयो । दैवज्ञ जोशीका अनुसार रथयात्रा सरकार प्रमुख देखि राष्ट्रप्रमुख सबैको चासो र सरोकार मात्र नभई प्रत्यक्ष सहभागी हुनुपर्ने विषयसंग सम्बन्धित रहेकोले समन्वयका लागि पत्राचार गरेको हो ।

हाल पुल्चोकमा राखिएको रथयात्रा अघि बढाउन रथयात्राको अवधिभर रथ तान्ने रुटमा जिल्ला प्रशासन कार्यालयले कफ्यु , निषेधाज्ञा वा ५० मिटर वरपर कोही पनि नराख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । त्यसपछि खाका अनुसार रथ तान्नको लागि ९० देखि १ सय जना व्यक्तिलाई स्वीकृति दिने र उनीहरुले स्वास्थ्य मापदण्ड सबै पुरा गरेर रथ तान्नमा खटिने छन् । स्वास्थ्य सुरक्षाका लागि आवश्यक मास्क, सेनिटाइजर र पञ्जाको व्यवस्थापनको लागि ललितपुर महानगरपालिकामा आग्रह गर्ने दैवज्ञ जोशीले बताउनुभयो ।

त्यसैगरी रथयात्रा हुने रुटमा बिजुलीको तारवार मिलाउने, सडक मर्मत गर्ने कामको समन्वय महानगरपालिका गर्ने छ । रथयात्राको लागि आवश्यक जिन्सी र अन्य सामग्री जुटाउने जिम्मा गुठी संस्थानमा रहने भनिएको छ । शान्तिसुरक्षाको सबै व्यवस्था जिल्ला प्रशासनले मिलाउन समन्वय गर्ने भनिएको छ ।

अघिपछि साँझमा हुने रथयात्रा यसपटक बिहान ६ बजेदेखि नै गर्ने खाकामा उल्लेख गरिएको छ । ‘ त्यसको करिब करिब एक घण्टापछि रथ गाबहाल पुग्ने छ । त्यसपछि रथ तान्नेहरुलाई खाना खुवाउने छौं । गाबहामा धार्मिक विधि र परम्परा अनुसार गर्नुपर्ने वैष्णवी देवीको पुजा, बन्धुदत्त बज्राचार्यका सन्ततिहरुले गर्नुपर्ने गुरुपुजा र बसुन्धरादेवीको पुजा हुनेछ ।’ ज्योतिष जोशीले भन्नुभयो ।

पुजाआजा सकिएपछि सोही दिन रथ तानेर सुन्धारा पु¥याउने लक्ष्य राखिएको छ । मंगलबजारमा मल्लराजाहरुले रातो मच्छिन्द्रनाथको लागि (सयौं वर्ष पहिले मंगलबजार चोकमा हखुखोला रहेको र त्यहाँ रातो मच्छिन्द्रनाथको धोती फेर्नुपर्ने परम्परा अनुसार) ल्याउने धोती फेर्न र दरबार पुजाको लागि बढीमा ३० मिनेट रथ रोकेर सुन्धारा पु¥याइने छ ।अन्य समयमा गाबहालबाट मंगलबजार हुँदै दुई दिनमा रथ सुन्धारा पु¥याउने गर्दै आएकोमा यस पटक एक दिनमै पु¥याउने लक्ष्य राखिएको छ ।

रथ सुन्धारामा पुगेपछि बाराहीहरुको पुजा र होम गर्ने छ । त्यसको भोलिपल्ट लगनखेलतर्फ रथ तानिने छ । अघिपछि सुन्धारामा रथ पुगेको तीनदेखि चार दिनभित्र रथ तानेर लगनखेलमा पु¥याउँथे । रथ लगनखेल पुगेको दिन बुधबार वा एकादशी नपरेमा सोही राति महाबली पुजा गरिने छ । त्यसपछि बिहान रथ तानेर थति टोलमा पु¥याउने योजना रहेको छ । त्यस लगतै बाराहीहरुको देवाली पुजा र रथ जावलाखेल तर्फ तान्ने साइत हेर्ने लगाउने भनिएको छ । त्यस्तै परम्परा अनुसार कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको प्रसाद दिन पठाउने र साईतमा रथ जावलाखेलतर्फ तानिने छ । त्यसको चार दिनपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमतीमा लग्ने खाका बनाइएको छ ।

रथयात्राको क्रममा ३२ हात लामो रथ दाँया बाँया नढल्कियोस् भनेर क्रेन र आवश्यक रुपमा डोजरको प्रयोग गर्न सकिने भनिए)को छ । धेरै मानिसहरु भिड हुने व्छय्ला, भुयाँ पुजा, नरिवल खसाल्ने र भोटो जात्रा सबै बन्द गरी धार्मिक विधिपूर्वक नगरी नहुने पुजा मात्र गर्ने गरी रथयात्राको खाका तयार गरिएको पानेजु कपिलदेव बज्राचार्यले बताउनुभयो ।

‘ रथ बनाईसकेपछि रथारोहण र त्यस लगतै रथयात्रा अनिवार्य प्रक्रिया नै हुन् । यसलाई रोक्नु भनेको सयौं वर्षदेखि चल्दै आएको धार्मिक, सांस्कृतिक परम्पराको खेलवाड हुनु हो । यसले भोलि धर्म ,सस्कृति र मास्नेतर्फ समाज जान सक्ने खतरा रहन्छ ।’ पानेजु बज्राचार्यले भन्नुभयो । यस खाकालाई लिएर सरोकारवालाबीच व्यापक छलफल भई एक / दुई दिनमै गते ठोस निर्णय आउने पनि पानेजु बज्राचार्यले बताउनुभयो । रथयात्रा भदौं १६ गते देखि असोज २ गतेभित्रमा सम्पन्न गरिसक्नुपर्ने धार्मिक बाध्यता रहेको छ ।असोज २ गतेपछि मलमास शुरु हुने भएकोले रथसंग सम्बन्धित कुनै पनि काम गन नहुने परम्परा रहेको छ ।

यसैवीच गत साउन २६ गते पनि सम्वन्धित रकमीहरुको बैठकले रथ तान्नु अघि शान्ति स्वस्ति र क्षमा गर्न गुठी संस्थानलाई आग्रह गरेको छ । रातो मच्छिन्द्रनाथ रथमा विराजमान रहेको अवस्थामा २४ घण्टा भित्र २ पटक भूकम्प समेत गएको र बाढी पहिरोको कारण कारण जनधनको क्षतिको अवस्थामा सो धार्मिक कार्य गर्नुपर्ने बैठकले निर्णय गरेको थियो ।

त्यसैगरी बैठकले स्वास्थ्य सुरक्षाको सबै उपाय अपनाएर रथयात्रा अघि बढाउने पनि निर्णय गरेको छ ।सो बैठकमा मूल पुजारी कमलराज बज्राचार्य, बाराही नाइके दिलकुमार बाराही, यँवाल नवीन महर्जन (भोला), घःकू नाइके नारायण ब्यञ्जनकार, घकू टाई महर्जन, घकू कविन शाक्य, ह्यगृब भैरव नाथ ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, दैवज्ञ. ज्योतिषी कीर्तिमदन जोशी र पानेजु नरेन्द्रराज शाक्यको उपस्थितिमा रहेको थियो ।

बैठकको निर्णय र सरोकारवालाको सुझाव महत्वपूर्ण रहेको उल्लेख गर्दै ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले स्थानीय प्रशासनबाट अनुमति दिएमा रथ तान्नको लागि आवश्यक व्यवस्थापकीय कार्यमा खटिने बताउनुभयो । रथ तान्ने विषयमा छलफल गर्न समाजकै संयोजकत्वमा ताम्रकार समाज,बौद्ध विहार संघ, स्यः स्यः समाज,बाराही समाज,राष्ट्रिय खड्गी समाज गरी नेवाः समुदायका विभिन्न जातीय प्रतिनिधित्व राखेर एउटा समिति गठन गरेको छ ।