अत्यावश्यक बाहेक अर्घाखाँची अस्पतालका सेवा बन्द


यमलाल भुसाल,बुटवल ।

अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ रिर्पोट आएसंगै अर्घाखाँची अस्पतालको आकस्मिक र प्रसुुति सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । आईतबार दुईजना स्वास्थ्यकर्मी सहित जिल्लामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सक र अन्य सरोकार वालाहरुको बैठकले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनु भयो ।

अर्घाखाँचीमा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका २ जना स्वास्थ्यकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टी भएको हो ।

सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ५ जना र मालारानी गाउँपालिकामा २ जना गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले बताउनु भयो । आइतबार १३ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको हो ।

जिल्लाभर ३ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय २४ जना कोरोना जितेर घर फर्किएका छन् । ३ जनाको कोरोना भाईरसका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनु भयो । अहिले जिल्लामा ९३ जना क्वारेन्टाइनमा बसेका छन् ।