ललितपुर महानगरका नगरप्रहरीले लिए तालिम


न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाका नगर प्रहरीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट एक महिनाको तालिम लिएका छन् ।महानगरपालिकाबाट दरखास्त आव्हान गरी केही समय अघि छनौट भएका ४९ जना नगर प्रहरीलाई प्रतिष्ठानले तालिम दिएको हो । तालिम महानगरपालिकाले प्रतिष्ठानसँग समन्वय र सहकार्य गरी आयोजना गरिएको थियो ।

तालिम प्राप्त नगरप्रहरीलाई सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा तालिम लिएका नगरप्रहरीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले तालिम प्राप्त नगर प्रहरीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

यसैगरी तालिमका प्रशिक्षकहरुलाई पनि प्रसंशापत्र प्रदान गरिएको थियो । तालिमका प्रशिक्षक १२ जना थिए । स्थानीय सरकार संचालन ऐन २०७४ शान्ति, सुरक्षा व्यवस्थापन, तथा अन्य व्यवस्थापकीय प्रयोजनका लागि पालिका स्तरमा नगर प्रहरी परिचालन गर्न सक्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार ललितपुर महानगरपालिकाले नगर प्रहरीका लागि दरखास्त आव्हान गरेको थियो ।

उक्त तालिममा नगरप्रहरीलाई मानवअधिकार, विशिष्ट व्यक्ति सुरक्षा, विपद व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन तथा कार्यालय सुरक्षासँग सम्बन्धित विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालको अहिलेको अवस्था सुधार गर्न नगरप्रहरीको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले नगरप्रहरीलाई राम्रो काम गर्न प्रेरित गर्दै भने, ‘ राम्रो काम गर्नेलाई महानगरले पुरस्कृत गर्छ, त्यत्ति मात्रै होइन, काम नगर्नेलाई दण्डित समेत गर्छ । ’ राम्रो काम नगर्नेलाई दण्डित गरेको उदारहण समेत दिए । प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले नगरप्रहरीको दायित्वलाई सफल पार्न यो तालिम महत्वपूर्ण भएको बताए । उनले तालिम अवधि थोरै भएको बताउँदै तीन महिने तालिम आवश्यक भएको स्पष्ट पारे ।

थापाले एक महिनाको अवधिमा प्रतिबद्धता, इमान्दारिता लगायतका अत्यावश्यक गुणहरु सिकेको बताउँदै अन्य तालिमबाट यी गुणहरुलाई निर्खानुपर्ने बताए । हाल ललितपुर महानगरपालिकामा २३ जना नगरप्रहरी छन् । ललितपुर महानगरपालिकाबाट नगर प्रहरी ५० जना छनौट भएकोमा १ जना प्रशिशार्थी नगरप्रहरी स्वास्थ्य समस्याका कारण तालिमबाट फिर्ता भएका थिए ।