पाल्पामा आइतवार तीन जनामा कोरोना पुष्टि


न्युज अफ नेपाल,पाल्पा ।

विश्वव्यापी महामारीको रुप लिइसकेको र नेपालमा पनि समुदाय स्तरमा फैलिइसकेको कोरोना तानसेनमा थप एक जना महिलामा पुष्टि भएपछि समुदायमा फैलिएको आशंका गरिएको छ । यस अघि पनि एक जना महिलामा नै समुदायस्तरमा फैलिएको पुष्टि भएकोमा आइतवार थप एक जनामा यस्तै पुष्टि भएको हो ।

. भैरहवाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार ज्वरो, रुखाघोकी लागेर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि आएकी महिलामा कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाव संकलन गरी पठाइएकोमा उनको आइतबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । संक्रमितको अहिले सोही अस्पतालमा आइशोलेसनमा राखेर उपचार भइरहेको छ ।

त्यसैगरी आइतवार नै रामपुर नगरपालिकाका दुइ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ आएको थियो । महिलामा कोरोना पुष्टि पछि सो क्षेत्र केही दिन सिल गरिएको छ र थप पुष्ट्याइका लागि त्यस क्षेत्र वरिपरिका मानिसहरुको स्वाव सकलन गरिएकोमा केहीको नेगेटिभ आएको र केहीको रिपोर्ट आउन बाँकी रहेको वताइएको छ ।

आईतबार थप तीन जनामा सक्रमण देखिएसँगै संक्रमितको संख्या ५ सय ६८ पुगेको छ । जसमा पुरुष ५ सय २० र महिला ४८ छन जसमा ५६१ जनाले कोरोना जितेका छन भने एक जनाको मृत्यू र वाँकीको उपचार भैरहेको छ ।