गणेश रथयात्रा स्थगित,घर घरमा गणेशको पूजा आराधना


काठमाडौँ । गणेश चतुर्थीका अवसरमा विसं २०६६ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्थगन गरिएको छ । गणेश चतुर्थीका दिन उपत्यकाका चार गणेशलगायत अन्य गणेशस्थानमा पूजा आराधना गरी रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गर्ने गरिएको थियो ।

यस वर्ष भदौ ७ गते आइतबार ऋषिपञ्चमीका दिन गरिने रथयात्रा कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण स्थगन गरिएको धर्मसभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । धर्मसभाले शुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । धर्मसभाले शुरु गरेपछि विसं २०६५ देखि भाद्र शुक्ल चतुर्थीका दिन राजधानीलगायत देशभर गणेश भगवान्को बृहत्रुपमा पूजा आराधना शुरु भएको छ ।

 सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यस वर्ष काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले घर घरमै पूजा आराधना गरेका छन ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि घर घरमै यो कर्म गरिएको हो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । आजका दिन विधिपूर्वक भगवान् गणेशको पूजा आरधना गरेमा वषैभर कुनै विघ्नबाधा पर्दैन भन्ने धार्मिक विश्वास छ ।

धर्मसभाको ११ औँ स्थापना दिवस

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी गणेश मन्दिर छन् । राजधानीमा करिब चार गणेश मन्दिर रहेका एक अध्ययनले देखाएको धर्मसभाका अध्यक्ष भट्टराईले बताउनुभयो । विसं २०६५ गणेश चतुर्थीका दिन स्थापना भएको धर्मसभाले आज ११ औँ वार्षिकोत्सव गणेशको पूजा आराधना गरी मनाएको छ ।

अन्य देवी देवताका सम्प्रदाय भएपनि गणेशको कुनै सम्प्रदाय छैन । हिन्दू, बौद्ध दुवै गणेशलाई अग्रपूज्य देवताका रुपमा उपासना गर्दै आएका छन् । गणेशको शरीरमा कुनै विज्ञान नै रहेको विश्वास समेत गरिन्छ ।

विभिन्न किसिमका लोकोपवादबाट बच्न गणेश चतुर्थीका दिन केही बिगो गरेमा दोष मुक्त भइने विश्वास समेत नेपाली समाजमा छ । यसै विश्वासले गाउँ घरतिर काँक्रा, फर्सी जस्ता अनाज चोरेर खाने चलन समेत छ । जसलाई चौँथी हान्ने भनिन्छ ।