धुलिखेलमा शुरु भयो प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला,दैनिक एक हजार स्वाब परिक्षण हुने

28
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्लाको धुलिखेल नगरपालिकामा बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परिक्षण गर्ने उदेश्यले प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको हो ।

‘बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो’– सामाजिक विकास मन्त्री युवराज दुलालले भन्नुभयो–‘अन्य ल्याबहरुले परिक्षण र पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत यो प्रयोगशालामा परिक्षण हुनेछ ।’ कोरोनाको परिक्षणसँगै अन्य रोगहरुको पहिचान र परिक्षणले नागरिकहरुलाई थप सहज बनाउने उहाँले बताउनु भयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकाका निर्देशक नारायण कार्कीले प्रदेश स्तरका सबै प्रकारका परिक्षण गर्ने र अन्य प्रयोगशालाले पहिचान गर्न नसक्ने खालका रोगहरु समेत यहि ल्यावबाट परिक्षण हुने बताउनु भयो । बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौडामा भए पनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको मन्त्री दुलालले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले प्रयोगशाला ब्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको भवन निर्माण हुनेछ । दैनीक एक हजार स्वाव परिक्षण गर्ने गरी प्रयोगशालामा जनशक्ति ब्यवस्थापन गरिएको छ ।

 सरकारी स्तरका दरवन्दीमा १३ र करारमा ९ जना कर्मचारीहरुले उक्त प्रयोगशालामा कार्य गर्नेछन् । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्वन्धी परिक्षण गर्नेछन् भने भक्तपुर र सिन्धुलीमा कोरोना परिक्षणका लागि प्रदेश सरकारले अर्काे प्रयोगशाला स्थापना गरे पछि तीन जिल्लाको मात्रै परिक्षण हुनेछ ।

धुलिखेल अस्पतालमा यस अघि परिक्षण हुँदै आएको प्रयोगशाला, स्वचालित थप अर्काे प्रयोगशला र प्रादेशिक प्रयोगशालाबाट द्रुत गतिमा परिक्षण हुँदा नागरिकहरुले स्वाव संकलन गरेको भोलिपल्टै जानकारी पाउनेछन् । प्रयोगशालाको कमीका कारण स्वाब संकलन गरेको झण्डै साता दिनसम्म ब्यक्तिले आफ्नो बारेमा जानकारी पाउन नसक्दा समुदायमा संक्रमण फैलिरहेको थियो । त्यो समस्याबाट मुक्त हुने गरी सरकारले काम गरिरहेको मन्त्री दुलालले जानकारी दिनु भयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि नगरपालिकाले आवश्यक ब्यवस्थापनका लागि सहयोग पु¥याएको बताउनु भयो । आगामी दिनमा प्रयोगशालाका लागि सहयोग गर्ने र नागरिकहरुको स्वास्थ्यका लागि धुलिखेल नगरपालिकालाई स्वस्थ शहर बनाउन प्रयोगशाला स्थापनाले थप सहयोग पुग्ने बताउनु भयो ।

प्रयोगशलाको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका सदस्यहरु रत्न ढकाल, चन्द्र लामा र लक्ष्मण लम्साद, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रयोगशालाका निर्देशक नारायण कार्की, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतको सहभागिता रहेको थियो ।