कागेश्वरी मनोहरा नगरपालिकाको खहरे–वीरेन्द्रचोक क्षेत्र सिल (फोटोफिचर)


मधुसूदन रायमाझी

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकाभित्र पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढदै गएको छ । उपत्यकभित्र संक्रमित देखिएको क्षेत्रमा महानगरपालिका र नगरपालिकाहरुले धमाधम बस्ती सिल गरिरहेका छन् । त्यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित खहरे–वीरेन्द्रचोक क्षेत्र पनि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिका३२ को सीमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग) सम्म आउजाउ गर्न निषेध गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले कोरोना संक्रमित देखिएको बस्तीलाई सिल गरिएको बताउनुभयो । उहाँका अनुसार कागेश्वरी मनोहरामा अहिलेसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएक छन् । वडा नम्बर ९ मा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउदै नगरप्रमुख थापाले संक्रमितको संख्या बढदै गएपछि नगरपालिकाभित्र कोरोना परीक्षण दायर पनि बढाइएको बताउनुभयो । नगरपालिकाको वडा नम्बर ६ मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण गर्दै आएको छ ।

भदौ ५ सम्म २ हजार ४ सय १४ जनाको पीसीआर १ हजार ३ सय ४४ जनाको आरडिटी परीक्षण गरिएको बताउदै नगरप्रमुख थापाले १ हजार ६ सय ९१ पुरुष र ७ सय २२ महिलाको पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । नगरपालिकाभित्र ७ सय ८४ पुरुष र ५ सय ६० महिलाको आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुष्टि भएको बस्तीमा थप संक्रमण फैलिन नदिनको लागि आज नगरप्रमुख थापासहित वडा अध्यक्ष, काँडाघारी प्रहरी प्रभागका प्रमुख, नगर प्रहरी र स्थानीयवासीको संयुक्त पहलमा खहरेचोकदेखि गान्धी स्कुल हुँदै बीरेन्द्रचोक (जगतजंग मार्ग) सम्मको बाटोमा प्रबेश निषेधको सूचना जारी गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा  कोरोना संक्रमित हुनेहरुको वडागत विवरणः
वडा नम्बर १ महिला २ जना र पुरूष २ जना, वडा नम्बर २ महिला छैन र पुरूष ३ जना, वडा नम्बर ३ महिला छैन र पुरूष १ जना, वडा नम्बर ४ पुरूष १ जना, वडा नम्बर ५ पुरूष २ जना, वडा नम्बर ६ महिला ३ जना र पुरूष ७ जना, वडा नम्बर ७ महिला ८ जना पुरूष ९ जना, वडा नम्बर ८ महिला २ जना पुरूष ५ जना, वडा नम्बर ९ महिला ६ जना पुरूष २५ जना गरी शुक्रवारसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।