काभ्रेमा आजबाट सार्वजनिक यातायात र बजार बन्द

बनेपामा ५० बेडको आईसोलेसन


मोतीराम तिमल्सिना,काभ्रे ।
कोरोना संक्रमण बढ्दै गएको र राजधानीमा निशेधाज्ञा लागे सँगै उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा सार्वजनिक यातायात र बजार बन्द गरिएको छ । बजारका मुख्य क्षेत्रहरुमा समय सिमा तोकेर खोल्ने र बन्द गर्ने गरी जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक यातायात सँगै बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । विहिबार गरिएको निर्णय शुक्रबार देखि पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । भाद्र ४ गते देखि १० गतेसम्म सार्वजनिक यातायातलाई पूर्ण रुपमा बन्द गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनु भयो ।

जिल्लाका मुख्य बजार क्षेत्रहरु धुलिखेल, बनेपा, पनौती, पाँचखाल र नमोबुद्धमा मानिसहरुको भिडभाड तथा अनावश्यक आवागमन बढ्दै गएकाले संक्रमक रोगको रुपमा फैलिंदै गएको कोभिड–१९ नियन्त्रण तथा न्यूनिकरणका लागि अर्को सूचना जारी नभएसम्म उल्लेखित क्षेत्रका व्यापार, व्यवसाय तथा अन्य खरिद बिक्री जन्य क्रियाकलापहरु बिहानबाट प्रत्येक दिन बिहान ७ बजे देखि ९ बजे र बेलुकी चार बजे देखि ६ बजेसम्म सामाजिक दुरी तथा न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी सञ्चालन हुन दिने निर्णय गरेको छ ।

जिल्लामा कोरोनाका कारण दुई जनाको निधन भएको छ भने १ सय ३ जना संक्रमित भएका छन् । जस मध्ये नेपाल प्रहरी २२, स्वास्थ्यकर्मी १६, बैदेशिक रोजगारबाट फर्किएका २५, जनप्रतिनिधि १, कानुन ब्यवसायी १, सर्वसाधारण ३७, अस्पतालका कर्मचारी एक जना संक्रमित छन् । ७ बर्षिय बालक देखि ९८ बर्षिय सम्म संक्रमणको शिकार बनेका छन् ।

संक्रमण बढ्दै गए पछि स्थानीय सरकारले आफै आईसोलेसन वार्ड तयार गरेका छन् । बनेपा नगरपालिकाले ५० बेडको आईसोलेसन तयार गरी विहिबारबाट विरामीहरु राख्न थालेको छ । डाक्टर सहितको सुविधा रहेको उक्त आईसोलेसनमा विहिबार ५ जना विरामी भर्ना गरिएको बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले जानकारी दिनु भएको छ ।