अब सवारीसाधनको नम्बर प्लेटमा देवनागरी लिपि


नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सवारीसाधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताउनुभएको छ । उहाँले यसमा भाषा, सुरक्षा संवेदनशीलता र आर्थिकको समेत कुरा जोडिएको यसप्रति आफू गम्भीर भएको प्रस्ट पार्नुभएको हो ।
बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले सवारी नम्बर प्लेटमा नेपाली भाषाको स्थानमा अङ्ग्रेजी भाषाको प्रयोग गर्नुपर्ने कुनै जरुरी नभएको भन्दै यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अंग्रेजी भाषाको प्रयोग हुन लागेका भएमा रोक्ने विश्वास दिलाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई कुलपति उप्रेतीले हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्ने अवगत गराउनुभएको थियो । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरिएकामा सोविरुद्ध सर्वोच्च अदालतबाट गत २०७६ मङ्सिर २७ गते अन्तरिम आदेश जारी भइसकेको छ ।
नेपालको संविधानको धारा ७ को उपधारा ९१० मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रस्ट उल्लेख गरिएको छ । हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारीसाधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारीसाधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको पनि कुलपति उप्रेतीले स्पष्ट गर्नुभएको थियो ।
कतिपय शहरी र ग्रामीण क्षेत्रमा समेत अंग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेका अवस्थामा सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अंग्रेजी लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकले सहजै न्याय नपाउने सम्भावना बढी हुने प्रज्ञा–प्रतिष्ठानको धारणा रहेको छ ।
सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा उहाँको जन्मघरमा स्थापना हुने संग्र्रहालयको विस्तृत परियोजना प्रस्ताव चाँडै ल्याउन कुलपतिलाई आग्रह गर्नुभएको थियो । अर्थमन्त्री युवराज खतिवडाको समेत उपस्थिति रहेको सो भेटमा प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण तत्काल बजेट अभाव भए पनि आगामी दिनमा सो कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने आश्वासन दिनुभएको थियो ।