होम आइसोलेसनमा बस्नेलाई दैनिक ३ सय ५०


नेपाल समाचारपत्र, काठमाडौं
टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई सन्तुलित भोजनबापत प्रतिदिन ३ सय ५० रुपियाँ उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरूको संख्या बढेलगत्तै नगरपालिकामा पनि कोरोना संक्रमितहरू हरेक दिन बढिरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले सो निर्णय गरेको हो ।

संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टाइनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिसमा सन्तुलित भोजनबापत प्रतिदिन ३ सय ५० रुपियाँ उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय भएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

सो नगरमा अहिलेसम्म ७७ जना कोरोना संक्रमितहरू भेटिएका छन् । २३ जना होम आइसोलेसनमा बसेका छन् भने २५ जना अस्पतालमा छन् । अन्य डिस्चार्ज भएर घर गइसकेका छन् ।

तर संक्रमित बढ्दै गएमा सोही प्राथमिक केन्द्रमा ९० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको पनि नगरप्रमुख अधिकारीले बताउनुभयो ।

नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरिएको छ ।

कोरोना संक्रमित बढेमा उनीहरूलाई राख्नका लागि वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाःछँे सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन गर्ने उपप्रमुख डंगोलले बताउनुभयो ।

यसैबीच काठमाडौं उपत्यकाका १८ नगरपालिकाको संयुक्त फोरमले पनि निषेधाज्ञालाई कार्यान्वयन गर्न आआफ्नो नगरपालिकास्तरमा विभिन्न योजना बनाउने र संयुक्तरूपमा आइसोलेसन कक्ष बनाउने कार्यमा जुटेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।