कक्षा ११का नयाँ पुस्तक छपाइ शुरू

यो महिनाभित्र सक्ने लक्ष्य


ईश्वरराज ढकाल, काठमाडौं

जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ को पाठ्यपुस्तक छपाइ शुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय गरेपछि केन्द्रले अनिवार्य ३ विषयको पाठ्यपुस्तक छपाइ शुरू गरेको हो ।

केन्द्रले हिजो बिहीबारदेखि पुस्तक छपाइ शुरू गरेको जनाएको हो । ‘उपत्यकामा निषेधाज्ञा भएका कारण कर्मचारी आउन नसकेर केही समस्या परेको छ, तैपनि तोकिएकै समयमा छपाइ सक्नेछौं।’–केन्द्रका प्रवक्ता चित्र आचार्यले भन्नुभयो ।

प्रवक्ता आचार्यले नेपाली, अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षाको छपाइ प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सकभर भदौ महिनाभित्र छपाइ सक्ने गरी काम शुरू गरिसकेका छौं ।’
सरकारले कक्षा १ देखि १२ सम्मको शिक्षा माध्यमिक तह उल्लेख गरिसकेको छ । सोहीअनुसार विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्ने अधिकार जनक शिक्षाको भएकाले जनकले छपाइ र बिक्री गर्ने तयारी गरेको छ ।

सरकारले चालू शैक्षिकसत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यपुस्तक छपाइको तयारी गरेको हो । पाठ्यक्रम विकास केन्द्रले करिब दुई साताअघि कम्प्युटर रेडी कपी (सीआरसी) उपलब्ध गराएपछि जनकले छपाइ प्रक्रिया अघि बढाएको हो । जनकका प्रवक्ता आचार्यले एसईई परीक्षामा विद्यार्थीको उत्तीर्ण संख्याका आधारमा पुस्तक छपाइ शुरू गरिएको बताउनुभयो ।

एउटा पुस्तकको करिब ४ लाख थान छपाइ गर्ने आचार्यको भनाइ छ । तर एक कर्मचारीले प्रतिकिताब २५ हजारको दरले छपाइ गर्ने अनुमति पाएको बताएका छन् ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले अनिवार्य विषयको पुस्तक छाप्न जनक शिक्षालाई जिम्मा दिइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनिवार्य तीन विषयको सबै पुस्तक छपाइ र बिक्री गर्ने दायित्व जनकलाई दिएका छौं ।’

करिब ७५ वटा ऐच्छिक विषय रहेको ११ मा ती सबै पुस्तक केन्द्रको स्वीकृतिमा निजीले लिनेछन् । विभिन्न प्रकाशकका ३५ विषयका पुस्तक केन्द्रमा प्राप्त भएको र त्यसलाई छनोट गरी स्वीकृत गर्ने काम भइरहेको बताउनुभयो ।

यस वर्ष नयाँ पाठ्यक्रमको आधारमा पढाउने विषयमा निर्णय भइसकेको छ । तर केहीले उच्च माध्यमिक संघ हिसानको दबाबमा यो वर्ष पढाउन समस्या पर्ने भन्दै पुरानै पुस्तक भिडाउन खोजेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो वर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लगाउने घोषणा गरिसक्नुभएको छ । तर केही प्रकाशले हिसानमार्फतअर्को वर्षबाट मात्र नयाँ पुस्तक लागू गर्न मन्त्रीलाई दबाब दिन थालेका छन् । तर मन्त्री पोखरेलले निर्णय भइसकेको अवस्थामा पुरानो पुस्तक प्रयोग गर्न नसकिने बताउँदै आउनुभएको छ ।

केन्द्रका प्रवक्ता भट्टराईले अहलेसम्म नयाँ पाठ्यपुस्तक लागू गर्ने निर्णय फिर्ता नभएको बताउनुभएको छ । मन्त्रालयकै निर्देशनमा अनिवार्य पुस्तक छपाइ र बिक्री गर्न जनकलाई जिम्मा दिइएको उहाँको भनाइ छ ।