निषेधाज्ञालाई तीजको श्राप


कपिल काफ्ले, काठमाडौं
तीज नेपाली महिलाका लागि अन्तर्राष्ट्रिय नारी दिवसभन्दा पनि प्यारो पर्व हो । तर, निषेधाज्ञा र लकडाउनका कारण यस वर्ष महिलाले तीज मनाउन पाएनन्, बिहीबारको दर, शुक्रबारको व्रत र आइतबारको ऋषिपञ्चमी पूजा सबै प्रभावित भयो । तीजको धार्मिक पक्ष विवादास्पद भए पनि सांस्कृतिक परिवर्तनका लागि तीजको अवसर पारेर गरिने कार्यक्रममा असर पर्दा लाखौं महिलाले अदृश्य लाभबाट वञ्चित हुनुप¥यो ।

कोरोना भाइरसको संक्रमण बढेको कारण देखाउँदै ३० भन्दा बढी जिल्ला अहिले निषेधाज्ञा वा लकडाउनको अवस्थामा छन् । संघीय सरकारले स्थानीय निकायलाई आफ्नो वस्तुस्थितिको विश्लेषण गर्दै बन्दाबन्दीको घोषणा गर्न सक्ने व्यवस्था गरेका कारण प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा जारी गरेका छन् । काठमाडौं उपत्यका पनि बिहीबारदेखि निषेधाज्ञाको अवस्थामा छ ।

संक्रमणलाई जति भयावह रूपमा लिइएको छ, त्यसअनुसारको असर भने देखिन्न । काठमाडौं उपत्यकामा २५ लाख जनसंख्या रहेको मानेर तीन हजार संक्रमितलाई प्रतिशतमा हेर्दा शून्य दशमलव एक–दुई प्रतिशत हुन आउँछ (यसलाई शतप्रतिशत बढाएर ५० लाख मान्दा पनि शून्य दशमलव दुई–चार प्रतिशत मात्र हुने हो) । बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिले पारेको क्षति वा अन्य परम्परागत रोगले गर्दै आएको विनाशसँग तुलना गर्दा आत्तिनुपर्ने अवस्था छैन । अरू विनाश चुपचाप आउँछन् तर कोभिड–१९ ढोलक बजाएर आएको छ, ढोलकको आवाज सुन्नासाथ हाम्रो श्वास फुल्न थाल्छ । भौतिकभन्दा मनोवैज्ञानिक त्रास बढी छ । कसैको नाङ्गो नाक देखियो भने हामी आतंकित हुन थालेका छौं ।

उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतका स्थानीय निकायका नेताहरूको दबाबका कारण प्रजिअहरूले हालका लागि एक साताको निषेधाज्ञा जारी गरेका छन् । तर निषेधाज्ञाका लागि दबाब दिने फोरमका नेताहरू आफै पँर्वतयारीमा भने कमजोर देखिएका छन् । जनताले उपत्यकाका स्थानीय तहको विरोध गरेपछि बल्ल मेयर फोरमले पाँच हजार क्षमता भएको आइसोलेसन सेवा केन्द्रको निर्माण गर्ने तयारी थालेको छ ।

बिहीबारसम्मको अभिलेखमा काठमाडौंमा मात्रै करिब १हजार ८ सय संक्रमित पुगेका छन् । कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने हो कि भनेर काठमाडौं उपत्यकाबासी चिन्तित भइरहेका बेला निषेधाज्ञाको पहिलो दिन निकै सफल पनि देखिएको छ । जनताले साथ दिएका छन् । तर, विनाभौतिक पूर्वाधार र आवश्यक तयारी निषेधाज्ञा जारी भएको राजधानीमा रहेका विपन्न परिवार र मजदुर वर्गको अवस्थाले प्रमाणित गरेको छ ।

कोरोना संक्रमण शहर केन्द्रित छ, बाक्लो बस्तीमा यसको बास देखिन्छ । राजधानीमा जस्तै संक्रमितको संख्या बढ्न थालेपछि वीरगन्जमा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा गत शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कायम छ । विभिन्न दलका प्रतिनिधिसँग छलफल गरेर प्रशासनले निषेधाज्ञाको घोषणा गरेको जनाइएको छ ।

सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाएर कानुन उल्लंघन गर्नेहरू बढ्न थालेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई दिनभरि आफै गस्तीमा हिँड्न थाल्नुभएको समाचार छ ।

कोरोना संक्रमणबाट प्रदेश १ को तराईका झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित छन् । तीमध्ये मोरङलाई गम्भीर स्थलका रूपमा लिइएको छ । झापा, मोरङ मात्र होइन, छिमेकी भारतसँग सिमाना जोडिएका प्रायः सबै जिल्लामा संक्रमण अधिक छ । भारतसँगको खुला सीमाका कारण प्रदेश २ मा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ । यस प्रदेशमा बिहीबारसम्म करिब एक हजार जना कोरानाबाट संक्रमित रहेको बताइएको छ । सबैभन्दा बढी रौतहट र सिरहा जिल्ला प्रभावित छन् । पश्चिम नेपालको अवस्था पनि उत्तिकै खराब छ ।

विश्वमा कोरोनालाई जित्ने मुलुकबाट नेपालले पाठ सिक्न सक्छ । न्युजिल्यान्ड, आइसल्यान्ड, तान्जानिया, फिजी, मोन्टिनेग्रो, दक्षिण कोरिया आदि मुलुकले कोरोनामाथि विजय प्राप्त गरेका छन् । छिमेकी चीनले पनि कोरोनामाथि विजय पायो, यद्यपि उसको उपचार विधि अधिनायकवादी भयो भनेर पश्चिमेली मुलुकहरूले आलोचना पनि गरेका छन् । तर, युरोपेली, अमेरिकी र भारतले लोकतन्त्रको अभ्यासका नाममा कोरोना फैलाएर नागरिककै ज्यान लिइरहेको कडा आलोचना पनि सुन्नुपरिरहेको छ । जीवन नै नरहे लोकतान्त्रिक अभ्यासको के अर्थ भन्ने तर्क बलियो छ ।

गत पुसमा छिमेकी चीनको उहानबाट शुरू भएको कोरोना महामारीले नेपाललाई चैत ११ देखि बन्दाबन्दीमा लग्यो । न त चीनलेजस्तो स्रोत–साधन–प्रविधियुक्त अधिनायकत्व देखाउन सकियो न त न्युजिल्यान्ड र दक्षिण कोरियाजस्तो नागरिकहरू नै सचेत, सजग र सहयोगी बनेर रोग नियन्त्रणमा सरिक भए । परिणामस्वरूप भदौ ४ गतेदेखि राजधानीमै निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आयो । जनताको सहयोगी व्यवहारकै कारण चैत–वैशाखमा दैनिक ९० जना संक्रमित भएको न्युजिल्यान्डले दुई महिनाभित्रै नयाँ संक्रमण शँन्यको अवस्थामा पु¥याएको घटनाबाट हामीले केही सिकेनौं ।

नेपाल अहिले परीक्षण व्यापक नगराउँदा पनि दैनिक सात सयभन्दा बढी संक्रमितको अवस्थामा छ ।
नेपालले चीन वा न्युजिल्यान्ड कसैको जस्ताको त्यस्तै अनुसरण गर्न सक्दैन । हामी स्रोत–साधन–प्रविधिले निकै पछाडि छौं । त्यसैले सचेत बनेर हिँड्ने र शरीरमा रोगप्रतिरोधी शक्ति विकास गर्ने विकल्प मात्र हाम्रा लागि सम्भव छ । घर–घरमा पाक्ने तीजको दरले पनि यही शक्ति बढाउन योगदान दिने आशा गर्नु स्वाभाविक हुनेछ ।