ओली–प्रचण्ड वार्ता: नियुक्ति बदर गर्नुपर्ने प्रचण्डको सर्त


काठमाडौं, (नेस)
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न कार्यदल गठन गरेर काम अगाडि बढाएको छ । कार्यदलले दिएको सुझावलाई आधार मानेर समस्या समाधान गर्ने तयारीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । कार्यदलले दिएको सुझावका आधारमा सरकार अगाडि बढ्ने बताए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धमाधम नियुक्ति गर्न थालेपछि उक्त निर्णय बदर गर्न अध्यक्ष प्रचण्डले ओलीसँग माग गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमाा भएको भेटवार्तामा प्रचण्डले कार्यदल गठनपछिका नियुक्ति, सिफारिस बदर गर्न आग्रह गरेको बताइएको छ । जवाफमा प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको जवाफ दिनुभएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रचण्डले नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदल अघि बढ्न नसक्ने चेतावनी दिनुभएको थियो । नियुक्ति प्रक्रियासँगै देखिएको मतभेदका कारण अध्यक्षद्वय ओली–प्रचण्डबीच सुधार भएको सम्बन्धमा पुनः चिसोपन आउन सक्ने बताइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । भण्डारीको नियुक्ति अदालतले नै बदर गरेपछि प्रेस काउन्सिलको कार्यवाहक उपाध्यक्षमा किशोर श्रेष्ठले नै निरन्तता पाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीको सुझावका आधारमा अगाडि बढ्ने बताए पनि व्यवहारमा भने धमाधम नियुक्ति गर्ने काम अगाडि बढाएपछि प्रचण्डले असन्तुष्टि जनाउनुभएको बताइएको छ ।

भेटमा झन्डै चार महिनायता चर्किएको पार्टीभित्रको विवाद सहमतितर्फ उन्मुख भएको बेला प्रधानमन्त्री ओलीले एकलौटीरूपमा नियुक्ति गर्ने काम अगाडि बढाएको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठन भइसकेको अवस्थामा उक्त नियुक्ति बदर गर्नुपर्ने दबाब दिनुभएको छ ।

पार्टी समस्या समाधान खोज्न ६ सदस्यीय कार्यदल गठन भएसँगै सहमतिको अन्तिम मस्यौदा तयार गर्न कार्यदलले काम गरिरहेको छ ।

दुई अध्यक्षको जिम्मेवारी, कार्यविभाजन, मन्त्री, मुख्यमन्त्री, राजनीतिक नियुक्ति तथा आगामी महाधिवेशनपछिको नेतृत्वका विषयमा कार्यदलले प्रस्ट खाका बनाउनेछ र सोहीअनुसार अगाडि बढ्न दुई अध्यक्षबीच सहमति भइसकेको छ ।