निर्णय बदर गर्न प्रचण्डले ओलीसँग जवाफ मागेपछि…..


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न कार्यदल गठन गरेर काम अगाडि बढाएको छ । कार्यदलले दिएको सुझावलाई आधार मानेर समस्या समाधान गर्ने तयारीमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । कार्यदलले दिएको सुझावको आधारमा सरकार अगाडि बढने बताए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धमाधम नियुक्ति गर्न थालेपछि उक्त निर्णय बदर गर्न अध्यक्ष प्रचण्डले ओलीसँग माग गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमाा भएको भेटवार्तामा प्रचण्डले कार्यदल गठनपछिका नियुक्ति, सिफारिस बदर गर्न आग्रह गरेको बताइएको छ । जवाफमा प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको जवाफ दिनुभएको स्रोतलेको दावी छ । स्रोतका अनुसार प्रचण्डले नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदल अघि बढ्न नसक्ने चेतावनी दिनुभएको थियो । नियुक्ति प्रक्रियासँगै देखिएको मतभेदको कारण अध्यक्षद्धय ओली–प्रचण्डबीच सुधार भएको सम्बन्धमा पुनः चिसोपन आउन सक्ने बताइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । भण्डारीको नियुक्ति अदालतले नै बदर गरेपनि प्रेस काउन्सिलको कार्यवहाक उपाध्यक्षमा किशोर श्रेष्ठले नै निरन्तता पाउनुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीको सुझावको आधारमा अगाडि बढने बताए पनि व्यवहारमा भने धमाधम नियुक्ति गर्ने काम अगाडि बढाएपछि प्रचण्डले असन्तुष्टि जनाउनुभएको बताइएको छ ।

झण्डै चार महिनायता चर्किएको पार्टी भित्रको विवाद सहमतितर्फ उन्मुख भएको बेला प्रधानमन्त्री ओलीले एकलौटी रुपमा नियुक्ति गर्ने काम अगाडि बढाएको भन्दै वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठन भइसकेको अवस्थामा उक्त नियुक्ति बदर गर्नुपर्ने दबाब दिनुभएको छ । पार्टी समस्या समाधान खोज्न ६ सदस्यीय कार्यदल गठन भएसँगै सहमतिको अन्तिम मस्यौदा तयार गर्न कार्यदलले काम गरिरहेको छ ।

दुई अध्यक्षको जिम्मेवारी, कार्यविभाजन, मन्त्री, मुख्यमन्त्री, राजनीतिक नियुक्ति तथा आगामी महाधिवेशनपछिको नेतृत्वका विषयमा कार्यदलले प्रस्ट खाका बनाउनेछ र सोहीअनुसार अगाडि बढन सहमति अध्यक्षद्धय ओली र प्रचण्डकोबीचमा भइसकेको छ । एक टेलिभिजनलाई दिएको अन्तर्वातमा प्रचण्डठले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोडनु नपर्ने बताइसक्नुभएको छ । प्रचण्डले कोरोनाको प्रकोप घटेपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनमा जाने अहिलेको विवाद÷बहसको राजनीतिक, सैद्धान्तिक, व्यावहारिक, साङ्गठनिक र सांस्कृतिक समाधान चाहेको बताउनुभएको छ ।