बत्ती बल्ने पत्थर बिक्रीको नाममा ठगी गर्ने थुना


नेपाल समाचारपत्र, पर्वत । अध्याँरोमा बत्ती बल्ने बहुमूल्य पत्थर बिक्री गर्ने नाममा ठगी गर्ने गिरोहका दुई सदस्य पुर्पक्षका लागि थुनामा परेका छन् । अध्याँरोमा बत्ती बल्ने बहुमुल्य पत्थर दिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका दुई जना पर्वत जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा परेका हुन ।

ठगी आरोपमा थृुनामा पर्नेमा पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँका ४० बर्षीय निर्मल बिक र बागलुङ्ग नगरपालिका वडा नं १४ बलेवा घर भै पर्वतको जलजला गाउँपालिका वडा नं ३ वारी बेनीमा बस्दै आएका २४ बर्षिय मञ्जिल साह रहेका छन ।

ठगी आरोपमा नै पक्राउ परेकी निर्मल विककी श्रीमती ३६ बर्षीया गुमा बिक, म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुकोट घर भई बेनीबजारको हुलाकचोकमा बस्ने मनिष बोहोरा र बागलुङ जिल्लाको जैमीनि नगरपालिका वडा नं. ६ घर भई हाल पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ६ मा बस्दै आएका ६० बर्षीय कोपिल मल्ल भने धरौटीमा छुटेका छन । मनीष बोहोरा १ लाख र गुमा विक र कोपिल मल्ल जनही ५० हजार धरौटीमा छुटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पक्राउ परेका निर्मल बिकले रुपन्देहीको बुटबल बस्ने एक जना संग सम्पर्क गरि बहुमूल्य पत्थर (बल्ने पत्थर) आफूसँग रहेको र धेरै महँगो मूल्यमा बिक्री गर्न सकिने भनेर ५० हजार रुपियाँ पेस्की लिएका थिए । श्रीमती गुमा बिकका नाममा ५० हजार पठाएपछि निर्मलले पिडीतलाई बल्ने ढुंगाको बारेमा भिडियो समेत पठाएका थिए ।

बल्ने ढुंगाका बारेमा बुझ्ने क्रममा यस्तो कृतिम ढंगले बनाइएकोले आफुँ ठगिएको साथै गैह्रकानुनी काममा संलग्न गराउन खोजेको बुझेपछि प्रहरीमा उजुरी गरेका थिए । बिक दम्पती र बोहोरा तथा शाहलाई साउन १० गते नियन्त्रणमा लिइएको थियो ।