बालक मृत्यु प्रकरण: मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति


बैतडी, (नेस)
बैतडीमा खाल्डोमा पुरिएर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपूर्ती दिने सहमति पछि परिवारजनले शव बुझेका छन् ।

सोमबार बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ज्यान गएको थियो । देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर सोमबार दुई बालकको मृत्यु भएपछि क्षतिपूर्तीको माग गर्दै परिवारजनले शव बुझेका थिएनन् ।

मंगलबार मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधिहरुबीच पीडित परिवारलाई १० लाख रुपैंया क्षतिपूर्ती दिने सहमति पछि परिवारजनले दुवै बालकको शव बुझेका हुन् । देहीमाण्डौं–गिरेगडा सडकखण्ड स्तरोन्नतीको काम गरिरहेका निर्माण व्यवसायीले ६ लाख र दशरथचन्द नगरपालिका तर्फबाट ४ लाख गरी मृतकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । सडकमा बनाइको खाल्डोकै कारण बालकहरुको मृत्यु भएको भन्दै स्थानीयहरुले क्षतिपूर्ती नदिँदा सम्म शव नउठाउने बताएपछि आज छलफल गरेर क्षतिपूर्ती दिने सहमति भएको हो ।

सहमतिपछि दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको र पोष्टमार्टम पछि आफन्तहरुलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै होम पाइप राख्नका लागि बनाएको खाल्डोमा यथाशीघ्र होम पाइप राख्न वा पुर्न पनि निर्माण व्यवसायी आग्रह गरिएको जनाइएको छ ।