नेकपा एमाले दल दर्ता


काठमाडौं, (नेस)
निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको हो ।आयोगले मोरङका सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँचबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो साता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ।

दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सय जनाभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिनुभयो ।

‘आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र केही दिनभित्र दलका प्रतिनिधिहरुलाई बोलाएर प्रमाण दिन्छौं’ –उहाँले भन्नुभयो । आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ ।

असार १६ गतेको स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एमाले दर्ताका लागि प्रक्रिया अघि बढाइएको भन्दै अर्का अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलयातका नेताहरुले राजीनामा मागेको थियो ।ओलीले आफू नेकपाकै अध्यक्ष भएकाले एमाले दर्ता गरिरहनु नपर्ने जवाफ दिनुभएको थियो ।

२०७५ साल जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा दल बनेपछि एमाले खाली थियो।