काभ्रेमा स्वास्थ्यकर्मीमा जोखिम बढ्यो


मोतीराम तिमल्सिना,काभ्रे ।

बुधबारसाँझसम्म जिल्लामा विभिन्न अस्पतालमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएकी छिन् । संक्रमितको संख्या १०२ पुगेको छ । मंगलबार १७ जना र बुधबार ५ जना संक्रमित थपिएका हुन ।बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएर निको भईसकेको छ भने धुलिखेल अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । डाक्टर, नर्स र वार्ड ब्वाई समेत संक्रमित भए पछि अस्पताल प्रशासनले थप सजगताका बारेमा छलफल गरेको छ ।

‘बुधबार संक्रमित भएका तीन स्वास्थ्यकर्मी अस्पतालले तयार गरेको कोरोना संक्रमितको उपचारमा संलग्न आईसोलेसन वार्डमा कार्यरत हुन्’–अस्पताल प्रशासनले भन्यो–‘जोखिम बढ्दै गए पछि थप सचेतना अपनाएका छौं ।’ उनिहरु सबै जिम्मेवारी सकिए पछि घरमै सेल्फ आईसोलेसनमा बस्दै आएका थिए । सामाजिक सञ्जालमा भने धुलिखेल अस्पतालले कार्यरत स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सुरक्षा समाग्री उपलब्ध नगराएका कारण संक्रमण फैलदै गएको पोष्ट भएको छ । अस्पताल ब्यवस्थापनले आफ्ना कर्मचारीहरुलाई संक्रमण हुन नदिन थप सचेतना अपनाउनु पर्ने कार्यरत कर्मचारीहरुको अनुरोध छ ।

स्वास्थ्यकर्मी पछि जिल्लामा संक्रमितहरुको संख्या प्रहरीमा धेरै देखिएको छ । संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारी, उनका परिवारका सदस्य र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत रहि घर विदाबाट फर्किएका तीन प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । संघीय प्रहरी कार्यालयले शुरुकै अवस्थामा लार्पवाहि गरेकाले १९ जनामा फैलन पुग्यो भने उनका परिवारमा पनि संक्रमण देखियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले भने घर विदाबाट फर्किएका प्रहरी कर्मचारीलाई क्वारेन्टाईनमा राखेकाले थप संक्रमण हुन पाएको छैन । धुलिखेलमा ९८ बर्षिय जेष्ठ नागरिक मार्फत उनका परिवार, उनलाई भेटन जाने शुभचिन्तक र आफन्तमा संक्रमण देखिएको छ । समुदायमा फैलँदै गएको संक्रमण त्यस्तै ब्यक्तिहरुको लार्पवाहिका कारण भएको हो ।

जिल्लामा १०२ जना ब्यक्तिहरु संक्रमित भएका छन् । जिल्लामा स्थायी ठेगाना भई अन्यत्र पेशा ब्यवसाय गर्ने थुप्रै जिल्लाबासीहरु संक्रमित भएका छन् । संक्रमितहरु मध्ये अधिकांश लक्षण नभएका ब्यक्तिहरु हुनुहुन्छ । संक्रमित मध्ये केहि उपचारको क्रममा हुनुहुन्छ भने केहि निको भएर घर फर्किसक्नु भएको छ । संक्रमित मध्ये ३५ जना निको भएर फर्किसक्नु भएको छ भने अरु उपचारको क्रममा हुनुहुन्छ । जिल्लामा हालसम्म प्रहरी २२ जना संक्रमित भएका छन् ।

जस मध्ये संघीय प्रहरी १९ र जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् । संख्याका हिसावले जिल्लामा बैदेशिक रोजगारबाट फर्किनेहरु मध्ये २५ जनामा संक्रमण देखिएको छ । कानुन ब्यवसायी १, स्वास्थ्यकर्मी १५, अस्पतालमा कार्यरत कर्मचारी १, जनप्रतिनिधि १, समुदायमा रहेका अन्य ब्यक्तिहरु ३७ जना रहेका छन् ।

७ र १२ बर्षिय बालक पनि संक्रमित भएका छन् भने ९८ बर्षिय जेष्ठ नागरिक संक्रमित भई निधन भईसकेको छ । ८६ बर्षिय संक्रमितले कोरोना जितिसकेका छन् । एक स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्किसकेका छन् । संक्रमण दर फैलिरहँदा जिल्लामा रहेका स्थानीय तहहरुले सेवा बन्द गरेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्र बन्द भने पनि नागरिकहरुले अवज्ञा गरिरहेका छन् ।