लमजुङमा भदौ ७ सम्म निषेधाज्ञा


शिक्षा पन्त, लमजुङ ।
कोरोना भाइरस कोभिड–१९ को जोखीम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले आज बिहान ६ः०० बजेदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सङ्क्र्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रजिअ शर्माद्वारा सर्वसाधारणका लागी जारी गरिएको आदेशमा खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न निषेध गरिएको उल्लेख गरिएको छ ।

यसैगरी सबै प्रकारका उद्योगव्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न, धार्मिक, सांस्कृतिक कार्यका लागि जमघट गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय समेत सञ्चालनमा निषेध गरिएको छ ।

कोरोना नियन्त्रणका लागि थप सर्तकता अपनाउनाका लागी यहि भदौ ७ गतेसम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागू हुने गरी सङ्क्रमक रोग ऐन २०२० को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जननएको छ ।