१० गायकगायिकाले एकसाथ गाए ‘इनफ इज इनफ’


देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले जनताको जीवन कष्टकर बन्दै गएको छ। कोरोनाको महामारीका समयमा समेत भ्रष्टाचारको दुर्गन्ध आएको छ। सत्ताका लागि लुछाचुँडी उस्तै छ। दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको छ।

यिनै विषयलाई शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको इनफ इज इनफ अर्थात् अत्ति भयो अत्ति बोलको गीतमा उतारिएको छ। गीत दश जना गायकगायिकाले गाएका छन्। गीत कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनीता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टीका सानुले गाएका छन्।

गीतमा देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि सामान्ती सोच र संस्कारमा परिवर्तन आउन नसकेको विषयलाई उठान गरिएको देवेन्दै्र क्षेत्रीको डाइलग छ। गीतमा इनफ इज इनफ अभियानलाई समेत जोडिएको छ। म्युजिक भिडियोसहित सार्वजनिक गरिएको गीत युट्युबमा दर्शक तथा स्रोताले रुचाएका छन्।

गीतले वर्तमान नेपालको वास्तविक दृश्य पेस गरेको गीतकार सुवेदी बताउँछन्। ‘देश यसरी नै चलेको छ, निर्मला पन्तहरू रोइरहेछन्, कोरोनाले सबैलाई तहसनहस बनाउँदा देश चलाउनेहरू पैसा कमाउन, सत्ता जोगाउनतिर लागेका खबर सुनिन्छ। विगतदेखि नै जनता मार्ने र मर्ने क्रम चलिरहेकै छ। यस्तै घटनाले जन्माएको हो यो गरिबको गीत, जहाँ मैले गरिब जनताले के–के भोग्नुपर्छ भनेर उतार्ने प्रयास गरेको छु।’ –गीतकार तथा संगीतकार शिव सुवेदी भन्छन्।