लाखौंका लोकप्रिय समाजसेवीले मलामी पाएनन्


भगवती तिमल्सिना, काभ्रे

आधुनिक धुलिखेल नगरपालिका तथा धुलिखेल खानेपानी निर्माणका सफल परिकल्पनाकार मध्येका एक वरिष्ठ समाजसेवीको मंगलबार दुखद निधन भयो, तर उहाँले कुनै आफन्त मलामी पाउनुभएन ।

धुलिखेललाई काकाकुलको अवस्थाबाट मुक्ति दिलाउन जर्मन सहयोग नियोगसम्म पुगेर हारगुहार गर्ने समाजसेवी ९८ वर्षका हुनुहुन्थ्यो । मंगलबार राति २ बजेको समयमा उहाँ कोरोनासँग पौठेजोरी खेल्दाखेल्दै बित्नुभयो ।

उहाँको श्रावण २७ गते कृष्णजन्माष्टमीका दिन ९८ औं जन्मदिन मनाउने तयारी भैरहेको थियो । अन्य वर्षमा उहाँको जन्मदिनको अवसर पारी पारिवारिक प्रतिष्ठानबाट समाजमा उत्कृष्ट काम गर्ने व्यक्ति, संघ–संस्थालाई सम्मान गर्ने र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गर्नुहुन्थ्यो ।

उहाँलाई बचाउन धुलिखेल अस्पताल र परिवारले सक्दो प्रयास ग¥यो । परिवारका सात सदस्यलाई उहाँकै सेवा गर्दागर्दै कोरोना भाइरस संक्रमण नै भयो । अरु दुई सदस्यलाई भने पहिला नै संक्रमण भएको थियो ।

विक्रम संवत् १९८० भाद्र १८ गते सोमबार श्रीकृष्ण जन्माष्टमीका दिन काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा जन्मेका उहाँ व्यापार–व्यवसायमा सफल हुनुहुन्थ्यो । साधारण लेखपढ मात्र गर्ने उहाँ महात्मा गान्धी, जवाहरलाल नेहरु, बी.पी.कोइराला र गणेशमान सिंहबाट प्रभावित हुनुहुन्थ्यो । उहाँका सबै सन्तान अहिले व्यापार व्यवसाय र समाजसेवामा नै सकृय छन् ।

काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माले उहाँ एक प्रसिद्ध समाजसेवी र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा धुलिखेलका लागि अति नै ठूलो योगदान पु¥याएका व्यक्ति हुनुहुन्थ्यो, कोरोना महामारीका कारण मलामी जाने अवस्थासम्म रहेन भनेर दुःख व्यक्त गर्नुभयो ।