पृथ्वीनारायण शाहले आक्रमण गर्दा नरोकिएको इन्द्रजात्रा कोरोनाले रोकियो


सुनील महर्जन, काठमाडौं
राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका आक्रमण गर्दा समेत बन्द नभएको इन्द्रजात्रा यसपटक नहुने भएको छ । राजा गुणकामदेवको पालादेखि चल्दै आएको येँ याः पर्व पहिलोपटक कोरोना महामारीले गर्दा प्रभावित हुन लागेको हो । काठमाडौं उपत्यकामा मनाइने विभिन्न जात्रामध्ये इन्द्रजात्रा महत्वपूर्ण मानिन्छ । काठमाडौं उपत्यकामा कारोनाको संक्रमणको जोखिम बढ्दै गएका कारण यसपटक इन्द्रजात्रा र कुमारी, भैरव तथा श्रीगणेशको रथ यात्रा नहुने अवस्था तयार भएको हो ।

इन्द्रजात्रा व्यवस्थापन, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानबीच भएको बैठकले इन्द्रजात्राका विधि पु¥याउन नित्य पूजाबाहेक जात्रा नगर्ने निर्णय गरेको छ । विसंं १८२५ मा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिन काठमाडौंमा आक्रमण गरेका थिए । जात्रामा रमाइरहेको काठमाडौंबासीलाई नियन्त्रण गर्न सफल भएपछि पनि कुमारीको रथ यात्रा रोकिएको थिएन ।

कुमारीको रथयात्रा भने जयप्रकाश मल्लको पालादेखि निरन्तर चल्दै आएको थियो । हालसम्म जस्तोसुकै परिस्थितिबीच पनि हनुमानढोकामा यःसिं ठड्याउने र देवदेवीको रथयात्राका साथै नाचहरु हुँदै आएको थियो । ऐतिहासिक नेपाल मण्डलमा मल्लकालदेखि नै यःसिं ठड्याउने परम्परा रहेको थियो । विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामा समेत काठ ठड्याउने गरिएको त्रिभुवन विश्वविद्यालयका इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धरले बताउनुभयो । प्रा.डा मानन्धरका अनुसार काठमाडौंमा येँ याःमा पनि यःसिं ठड्याउन मल्लकालमा नै शुरु भएको थियो ।

यस वर्ष भदौ १४ गते आइतवार बिहान ७ः०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत तय भएको थियो । भदौ १६ गते रथयात्रा प्रारम्भ हुने थियो । इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष ८ दिन लामो इन्द्रजात्रामा जीवित देवी कुमारी, जीवित देव भैरव र गणेशको रथ यात्रा नहुने जनाएको हो । इन्द्रजात्रामा निकालिने मजिपाः लाखे, पुलुकिसि सवःभक्कु, देवी नाच पनि हुने छैन । जात्रामा भीडभाड हुने कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।

अहिले कोरोना महामारीको समय नहँुदो हो त काठमाडौंका मानन्धर समुदायका मानिसहरु भदौ ४ गते ‘वनयात्रा’ को तयारीमा हुन्थे । बिहानै हनुमानढोकामा जम्मा भएर उनीहरु फत्ता र टीका लगाएर हनुमानढोकाको नासल चोकबाट भक्तपुरको नालामा रहेको यसिंगुँतिर लाग्थे, गुरुजुको पल्टनसहित यँयाः (इन्द्रजात्रा) का लागि यःसिं लिन । तर, यसपटक कोरोना जोखिमका कारण मानन्धर समुदायका अगुवाहरु यसिंगु प्रस्थान गर्ने छैनन् । न त इन्द्रजात्रामा यःसिं नै ठडिनेछ ।

चैत्र ११ गते लकडाउन शुरु भएदेखि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हरेक चाडपर्वमा भीडभाड र जात्रा पर्व नमनाउन आग्रह गर्दै विधि पु¥याउन धार्मिक, सांंंस्कृतिक रुपले पूजाआजा मात्र गर्न सार्वजनिक रुपमै आग्रह गर्दै आउनुभएको छ । यसअनुरुप पाँहा च¥हे, सेतो मच्छिन्द्रनाथको रथयात्रादेखि हालसम्म काठमाडौंमा हुने सबै जात्राहरु स्थगित हुँदै आएको छ ।