पदीय भागवण्डामा टुंगो लाग्दै नेकपाको विवाद


काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक विवाद पद बाँडफाँडमा मिल्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शुरु भएको विवाद डेढ महिनापछि पद बाँडफाँडमा सहमति जुट्ने भएको हो ।

पार्टीभित्र वैचारिक र सैद्धान्तिक मुद्दा नभएकाले पद बाँडफाँडमै डेढ महिनाभन्दा बढी समय नेकपा आन्तरिक विवादमा रुमलिएको थियो । गत शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएसँगै पार्टीभित्रको आन्तरिक विवाद हल भइसकेको बताइएको छ । तर औचारिक विवाद समाधान भने कार्यदलले दिने प्रतिवेदनलाई आधार मानिने भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली समूहले विचारको विवाद नरहेकाले पदीय कुरामा समस्या सृजना गरेको आरोप लगाएपछि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद पदको नभएको स्पष्टीकरण दिनुपरेको थियो ।

पार्टी एकीकरण भएको लामो समय बितिसक्दा समेत अझै केही सांगठानिक एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन । डेढ महिनाअघि सचिवालयमा अलमलमा रहनुभएका अध्यक्ष ओली अहिले सुविधाजनक बहुमत हुने अवस्था सृजना भएको छ ।

ओली–प्रचण्डबीच छ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएसँगै सचिवालयमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठ मात्र ओलीको विपक्षीमा रहनुभएको छ । उपाध्यक्ष वामदेव गौतमल पदीय भागवण्डा गर्ने गरी छ बुँदे सहमतिको खाका अगाडि सारेपछि विवाद समाधान हुने अवस्था सृजना भएको थियो ।

सचिवालय सदस्य रामबहादुर थापा पनि ओलीकै पक्षमा उभिएपछि नेकपाको शक्ति सन्तुलनमा परिवर्तन आएको हो । गौतम र थापाको साथ पाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक राख्न राजी हुनुभएको थियो ।

सरकार सञ्चालन गर्दा पार्टीसँग परामर्श गर्नुपर्ने, मन्त्रीमण्डल पुनर्गठन गर्ने, केही मुख्यमन्त्री हेरफेर गर्ने, संवैधानिक नियुक्तिमा पार्टीसँग परामर्श गरेर मात्र अगाडि बढ्ने विषयमा ओली–प्रचण्डबीच समझदारी बनेको बताइएको छ ।

समस्या समाधानका लागि कार्यदलले बाँकी तीन वर्ष प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने र आगामी महाधिवेशनसम्मका लागि प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने गरी गरी कार्यदलले खाका तयार गरिरहेको बताइएको छ ।