कीर्तिपुरमा सेमिलकडाउन


ईश्वरराज ढकाल, कीर्तिपुर
कीर्तिपुर नगरपालिकाले तराईका जिल्ला बसोबास गर्ने र २० दिन अघिसम्म तराईका जिल्ला घुम्न गएका स्थानीयको पीसीआर परीक्षण शुरु गरेको छ । नगरपालिकाले रोजगारीको सिलसिलामा कीर्तिपुर भित्रिएकालाई पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि ‘सेमी लकडाउन’ शुरु गरेको नगरपालिकाले २० दिनभित्र सबैको परीक्षण सम्पन्न गर्ने जनाएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले २० दिनअघि तराई पुगेका र घुम्न गएका स्थानीयको परीक्षण शुरु गरेको जानकारी दिनुभयो । नगरपालिकाले सबै स्थानीयलाई सार्वजनिक सूचना जारी गरी पीसीआर परीक्षण गर्न आह्वान गरेको उहाँले बताउनुभयोे ।

नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजाल खड्काले कोभिड कमिटी सीसीएमसीको पहलमा मंगलबारबाट पीसीआर परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । कीर्तिपुर नगरपालिकाले सोमबारदेखि कीर्तिपुरबाट चल्ने सार्वजनिक यातायात बन्द गरेको छ । नगरपालिकाले सबै सार्वजनिक यातायात भदौ ९ गतेसम्मका लागि सञ्चालन नगर्ने निर्णय गरेको हो ।

औषधि पसलबाहेक अन्य पसल र व्यवसायहरु बिहान ७ देखि ११ बजेसम्म मात्र खुला रहने व्यवस्था गरेको छ । मेयर महर्जनले कीर्तिपुरमा कोरोना महामारीका रुपमा फैलन नदिन सो व्यवस्था गरिएको जानकारी दिनुभयो ।


उहाँले मन्दिर, रेस्टुरेन्टलगायत मनोरञ्जनका सबै स्थल बन्द गरिएको जानकारी दिनुभयो । नगरपालिकाले वाघभैरव, विष्णुदेवी, जलविनायक, आदिनाथलगायत सबै मन्दिर बन्द गरेको छ ।

प्रवक्ता एवं उपमेयर रिजाल खड्काले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय कार्यान्वयन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘केही निर्णय थपेका छौं, थपेका सबै निर्णय कार्यपालिकाको बैठकले अनुमोदन गराएको हो ।’ महामारीबाट बच्ने उपायबारे जानकारी गराउन नगरपालिकाल माइकिङक शुरु गरेको छ ।

अनुगमनलाई तीव्रता दिएको मेयर महर्जनले बताउनुभयो । उहाँले नगरपालिकाले केही दिनभित्र आफ्नो पीसीआर मेसिनबाट स्वाब संकलन गर्ने कार्य शुरु गर्न लागिएको बताउनुभयो । भन्नुभयो– ‘करिब २३ लाख रुपियाँ लगानीमा ल्याउन लागिएको मेसिन ठेकेदारले केही दिनभित्र नगरपालिकालाई हस्तानतरण गर्ने भएको छ ।’

नगरपालिकाले कीर्तिपुर अस्पतालमा १० वेडको आइसोलेसन, डेडिकेटेड एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ । स्थानीयसहित करिब १ लाख जनसंख्या रहेको कीर्तिपुर नगरपालिकाले सोमबारदेखि ९ गतेसम्म सेमिलकडाउन गरेको हो ।

प्रवक्ता एवं उपप्रमुख रिजाल खड्काले प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार नगरपालिकाले आंशिक रुपमा बन्द गरेको बताउनुभयो । ९ गतेसम्मका लागि भने पनि आवश्यकताको आधारमा समय थप गर्न सकिने उपमेयर रिजाल खड्काले बताउनुभयो ।

नगरपालिका क्षेत्रमा भीडभाडलाई पूर्ण निषेध गरिएको छ भने कुनैप नि सवारी सञ्चालन गर्न रोक लगाइएको छ । सबैलाई बिहान ७ देखि ११ बजेसम्म आवश्यक सामग्री खरिद र भण्डारण गर्न निर्देशन गरेको छ । नगरपालिकाले ठाउँ–ठाउँमा प्ले कार्ड राखेर निषेधित क्षेत्र घोषणा गरेको छ ।

जनतालाई दुःख दिनभन्दा पनि रोगबाट सबैलाई बचाउन यस्तो नियम लागू गरेको मेयर महर्जनले बताउनुभयो । अवस्था सामान्य नभएसम्म यो व्यवस्थालाई यथावत् राख्ने तयारी गरेको उहाँको भनाइ थियो । हालसम्म कीर्तिपुर नगरपालिका क्षेत्रभित्र १६ जना संक्रमित भेटिएपछि थप कडाइ गरेको हो ।