आलितालमा पहिरोका कारण ३५ परिवार विस्थापित


राम धामी,डडेल्धुरा ।

आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा करिब ३५ परिवार विस्थापित भएका छन । आलिताल गाउँपालिका–७ का बलौच, कोईराली, खिन्नेभाडी र वबाच गाउँमा अझै पहिरो खसिरहेको छ । अन्य वस्तीमा पनि पहिरोको जोखिम रहेको र गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको वडा अध्यक्ष बिरबहादुर बोहराले बताए ।

पहिरोले हालसम्म तीन घर पुरिसकेको छ । केही घरका दिवाल भत्केका छन । वस्तीका सयौं घरहरु जोखिममा छन । गाँउकोमाथि र तल्लो क्षेत्रबाट पहिरो खस्ने क्रम जारी छ । गाउँमाथिको पहाड पुरै चर्किएको स्थानीय बताउछन । ज्वालमुखी गएको जस्तो गरी बलौचको पहाड चर्किएको आलिताल प्रहरी चौकीले जनाएको छ ।

लगातारको बर्षा पछि गत साउन १८ गते देखि चारओटै वस्तीमा पहिरो खस्न शुरु भएको हो । एक दशक अघि पनि चारओटै बस्तीमा पहिरो गएको स्थानीय अगुवा जनक कलौनीले बताए । पहिरोको सन्त्रासका कारण गाँउबाट विस्थापितहरुलाई बिद्यालय र बाल विकास केन्द्रको भवनमा सारिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । पहिरो प्रभावित क्षेत्रमा राहात लिएर शुक्रबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा टोली परिचालन गरिने प्रजिअ बास्तोलाले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटी डडेल्धुराले करिब एक दर्जन बढी त्रिपाल उपलब्ध गराएको जनाएको छ । गाउँपालिका स्तरमा बैठक बसि मुचुल्का उठाएर सहयोगका लागी प्रदेश र संघीय सरकारलाई गुहार माग्ने निर्णय गरिएको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

एक दश अघि सो क्षेत्रमा व्यापक वन फडानी भएकाले पहिरो जान थालेको स्थानीय बताउछन । अत्यान्तै सम्बेदनसिल मानिएको चुरे क्षेत्रमा अवैध रुपमा वन फडानी भएसँगै पहिरोको प्रकोप देखिन थालेको हो । अवैध वन फडानीका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो क्षेत्रमा सामुदायीक वनबिरुद्ध मुद्दा दर्ता गरेको थियो ।