पुनः लकडाउनको तयारीमा सरकार


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमितकाे संख्या ह्वात्तै बढदै गएपछि सरकारले पुनः लकडाउन गर्ने गृहकार्य अगाडि बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खाका ल्याउन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिलाई निर्देशन दिनुभएको छ ।

निर्देशक समितिको बैठक भोली बस्ने भएको छ । एक मन्त्रीका अनुुसार प्रधानमन्त्री ओली तत्काल लकडाउन गर्ने मनस्थितिमा रहुनुभएको छ, अब बस्ने मन्त्रीपरिषद्को बैठकमा निर्णय हुने सम्भावना छ । सिसिएमसीले सुझाव दिए लगत्तै बुधवार प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग अनौपचारिक रुपमा छलफल गर्ने कार्यक्रम रहेको ती मन्त्रीले न्युज अफ नेपाललाई बताए ।

सरकारले गत चैत्र ११ गतेदेखि असार पहिलो सातासम्म लकडाउन गरेको थियो । चौतर्फी दबाब परेपछि सरकारले लकडाउन खुला गर्ने निर्णय गरेको थियो । तर देशभर कोरोना संक्रमितको संख्या बढेसँगै सरकार पुनः लकडाउन गर्ने गृहकार्यमा जुटेको छ । तीन साता अघि नै स्वास्थ्य क्षेत्रका विज्ञहरुले पूर्ण लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई सुुझाव दिएका थिए । उक्त सुझावलाई प्रधानमन्त्री ओलीले ग्रहण गरेपनि कार्यान्वयन गर्नुभएको छैन् ।