लुलल्यामा जहाँ गयो त्यहीं पहिरो



दुर्गाप्रसाद शर्मा, पर्वत
बाह्र वर्षअघिको पहिरोले बसिरहेको लुलल्या गाउँमा घर भत्किएपछि जलजला गाउँपालिका–२ की मनसुवा जिसीका परिवार त्यहाँबाट विस्थापित भएर छिमेकी गाउँ रखलबिसौना पुगेका थिए ।
पर्वतको साविक माझफाँट गाविस र स्थानीयबासीले रखलबिसौनीमा घर बनाएर मनसुवाको ४ जनाको परिवारलाई बसोबासको व्यवस्था मिलाएका थिए । केही दिनअघि मनसुवा अहिले बस्दै आएको घरछेउमा पहिरो गएपछि अहिले उनीहरु रातको समयमा छिमेकीकहाँ जाने गरेका छन् ।
‘पहिले पनि पहिरोले घर भत्काएर यहाँ आएर बसेको हो’, उहाँले भन्नुभयो– ‘यहाँ पनि पहिरो आँगनमै आइपुगेको छ । घर भत्कायो भने कहाँ गएर बस्ने ?’ मनसुवासँगै लुलल्याको पहिरोबाट विस्थापित भएका ताराबहादुर जिसी, सोमबहादुर जिसीलगायत पाँच परिवार रखलबिसौनामा आएर बसेका थिए । ‘लुल्याहको घर बस्न नमिल्ने भएपछि रखलबिसौनामा आफन्तको खाली घरमा बसेका थियौं’, ताराबहादुरले भन्नुभयो– ‘यहाँ पनि फेरि पहिरो जान थाल्यो । हामी जहाँ गयो त्यहीं पहिरो जान्छ । पहिरोले खेदेको खेदै छ ।’
माझफाँट गाविस–रखलबिसौनाको पहिरोबाट १० घर जोखिममा परेका छन । लुलल्यामा यसअघिको पहिरोबाट जोगिएका तीनवटा घर पनि यसपालिको पहिरोले पर्खाल चर्किएर भत्किने अवस्थामा छन् । ‘चारैतिर पहिरोले घेरेको छ’, लुलल्याकी सरस्वती जिसीले भन्नुभयो– ‘जमिन धाँजा फाटेर पर्खाल चर्किएको घर कति बेला भत्केर पुर्छ भन्ने डर छ । रातमा निद्रा लाग्दैन ।’

बाह्र वर्षअघिको पहिरोले गाउँ छाडे, अहिले पनि ज्यान जोगाउने चिन्ता 

लुलल्याको शिर र फेदी, दायाँ र बायाँ चारैतिर पहिरो छ । लुलल्याभन्दा माथि पुम्दीखोला सिँचाइ आयोजनाको नहर छ । नहर माथिको तल्लो ओखरबोटबाट करिब तीन सय मिटर लम्बाई भएको पहिरो सक्रिय छ । पहिरोले जमिन चिराचिरा बनाएपछि दश रोपनी खेत बाँझै छाडेको पूणगाउँका यामबहादुर कार्र्कीले बताउनुभयो ।
उहाँका अनुसार सो क्षेत्रमा २ सय रोपनीभन्दा बढी खेतमा पहिरो गएपछि खेती गर्न छाडिएकोे छ । दुई सय रोपनीभन्दा बढी जमिनमा रहेको सुन्तला बगैंचा पहिरोसँगै बग्न थालेको कृषक सोमबहादुर खत्रीले बताउनुभयो । पहिरोले मानव बस्ती जोखिममा पर्नुका साथै सडक, सिँचाइ, पदमार्गलगायत सार्वजनिक भौतिक संरचना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको वडा अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।
यही साउन ५ गते कालीगण्डकी र रघुगंगा नदीमा आएको बाढीले रामन्दिरको धर्मशाला र गौशाला बगाउँदा करिब २ करोड बराबरको भौतिक क्षति गरेको छ । टमिलाखर्क र गौरटेमा २१ घर पहिरोको जोखिममा परेका छन् । चारवटा घरका सामान सुरक्षित ठाउँमा सारेर मानिसहरुलाई अन्यत्र बसोबासको ब्यवस्था मिलाइएको छ ।
भिरालो पाखोमा रहेका भूमिगत पानीका मुहान, साम्मारे–रखलबिसौना–भीमपाइला–पूणगाउँ हुँदै लेकफाँट जोड्ने सडकको भल व्यवस्थापन नभएको र पुम्दीखोला सिँचाइ आयोजनाको नहरबाट पानी चुहावट हुँदा पहिरोको जोखिम बढेको स्थानीय सविना खत्रीले बताउनुभयो । तल्लो ओखरबोट र लुलल्यामा १९९० सालमा ठूलो पहिरो गएको थियो । सडक निर्माण र विस्तार तथा सिँचाइको नहरबाट पानी चुहावट हुन थालेपछि जमिन धाँजा फाटेर चिराचिरा परेर रोकिएको पहिरो केही वर्षयता सक्रिय भएको खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्