संवैधानिक नियुक्ति गर्न ओली, प्रचण्ड र देउवाबीच छलफल


काठमाडौं, (नेस)

लामो समयदेखि संवैधानिक आयोगका रिक्त पदाधिकारीहरुको नियुक्ति गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल अगाडि बढाउनुभएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका रिक्त पदाधिकारी नियुक्तको बारेमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग संवैधानिक आयोगमा नियुक्तिका सन्दर्भमा छलफल गर्नुभयो ।

सोमाबरको छलफलमा प्रधानमन्त्री ओलीले संवैधानिक निकायका रिक्त रहेका सबै पदका विषयमा छलफलको प्रस्ताव अगाडि सार्नुभएको छ । प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति देउवा पनि सकारात्मक हुनुभएको छ ।

नेपाली कांग्रेस नेता लेखककले नेकपाका अध्यक्ष प्रचण्डले यस विषयमा पार्टीभित्रै थप छलफलको अवश्यकता रहेको भन्दै मंगलबारका लागि समय मागेपछि छलफलमा कुनै सहमति हुन नसकेको जानकारी दिनुभयो । ओली, प्रचण्ड र देउवाबीच आयोगका पदाधिकारी र सदस्यमा भागबण्डा टुंगो लागिसकेपछि मात्र संवैधानिक परिषद्को बैठक राखेर निर्णय लिने बुझिएको छ ।

संविधान बनेको ५ वर्ष हुनै लाग्दा पनि १३ संवैधानिक आयोगमध्ये १० वटामा ३९ पद रिक्त रहेको छ ।