आठ महिनामा ५० हजार पर्यटकद्वारा म्याग्दीको भ्रमण, लकडाउनले होटल व्यवसाय चौपट


प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७६/७७ को ८ महिनाको अवधिमा जम्मा ५० हजार पर्यटकहरुले मात्रै भ्रमण गरेका छन् । जिल्ला भ्रमण गर्ने विदेशी पर्यटकहरुको आवागमन बढ्दै गैरहेको अवस्थामा विश्वभर फैलिएको कोराना भाइरसका कारण गतवर्ष जम्मा ५० हजार ५८ जनाले म्याग्दीको भ्रमण गरेका हुन् ।

गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा कुल ७५ हजार १ सय ९० जना विदेशी पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेकोमा गतवर्ष म्याग्दी भ्रमण गर्ने जम्मा ५० हजार ५८ जना पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार गत आवको साउनदेखि फागुन महिनासम्म ५० हजारभन्दा केही बढी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका छन् ।

म्याग्दी भ्रमणमा गतवर्ष २९ हजार ९ सय ४६ जना पर्यटकहरु भित्रिएका छन्भने २० हजार १ सय १२ जना पर्यटकहरु बाहिरिएका छन् । म्याग्दी भ्रमणमा भित्रिने र बाहिरिनेमा पुरुष १३ हजार ९ सय ६८ रहेकोमा १५ हजार ९ सय ७८ जना महिला पर्यटकहरु रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा पर्यटक आवागमन बढ्दै गैरहेको अवस्थामा २०१९ को डिसेम्बरमा चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर महामारीको रुप लिएपछि यसकै कारण पर्यटकको चहलपहल घटेको हो ।
आर्थिक वर्ष ०७४/७५ मा कुल ७४ हजार १ सय ६३ जना पर्यटकले म्याग्दी भ्रमण गरेकोमा ०७३/७४ मा ६९ हजार ८ सय १६ जना म्याग्दी आएका थिए ।

गत वर्षको पर्यटक आवागमनको तथ्याङ्कअनुसार कोभिड–१९ को मुख्य कारण पर्यटकको संख्या ह्वात्तै घटेको देखिन्छ । पर्यटकीय सिजन सुरु भएको समयमा कोरोनाले विश्वभर लकडाउन भएपछि चैतदेखि असारसम्म विदेशी पर्यटक म्याग्दी भ्रमणमा आउन सकेनन् । कोरोनाकै कारण विश्वमा लकडाउनका साथै हवाई उडान बन्द भएपछि तथा कोरोनाको जोखिमका कारण पर्यटक आवागमन शुन्यमा झरेको हो ।

म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र हिमालपारीको जिल्ला मुस्ताङ भएर म्याग्दीको भ्रमण गर्नका लागि वर्षेनी पर्यटकहरु आउने गरेको तथ्याङ्क छ ।

यसैगरी कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर पनि जिल्लाको भ्रमणमा निस्किन्छन् ।
म्याग्दीको भ्रमणमा विदेशी पर्यटकहरु सदरमुकाम बेनीस्थित कालीपुल बसपार्क, भूरुङ–तातोपानी, दरबाङ र मुस्ताङबाट आउने गरेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

म्याग्दीमा खासगरी भारतसहित तेस्रो मुलुकहरु चीन, अमेरिका, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटकहरु भित्रिन्छन् । पछिल्लो समय विदेशी पर्यटकहरुको तुलनामा भ्रमण गर्न स्वदेशी पर्यटकहरुको संख्या बढेको भए पनि उनीहरुको आधिकारिक तथ्याङ्क भने कुनै पनि निकायले राख्न सकेका छैनन् ।

यसैबीच म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले लकडाउन जारीरहँदा होटल व्यवसाय मारमा परेकाले घरभाडा छुटलगायत सेवासुविधा पाउनुपर्ने माग गनुभयो । व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएकाले सहज अवस्थामा भाडा तिर्नेगरी तत्काललाई छुट दिनुपर्ने उहाँले बताउनुभयो ।