निषेधाज्ञा उल्लंघन गर्दा समुदायमा कोरोना


पुष्पा थापा, सर्लाही
निषेधाज्ञा उल्लंघन गरेका कारण सर्लाहीमा कोभिड–१९ कोरोना भाइरस संक्रमितको संख्या निकै बढेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई बेवास्ता गर्दा समुदाय स्तरमा नै कोरोना भाइरस फैलिन थालेको हो ।
जिल्लाभर एक सतामा संक्रमितको संख्या बढेर एक हजार नजिक पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
‘कोरोना संक्रमितहरु समुदाय स्तरमा निस्फिक्री हिँडडुल गरेका कारण समुदायमा संक्रमण बढेको हो, लकडाउन खुकुलो भएपछि धेरैतिरको मानिसको आवतजावत बढ्यो, संक्रमण बढ्दै गएपछि हामीले परीक्षणको दायरा बढायौं, त्यही भएर अहिले संक्रमितको संख्या बढेको हो’ –उहाँले भन्नुभयो ।
समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि केही स्थानीय पालिकाले नगर सिल गराएका छन् । जिल्लामा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित मलंगवा नगरपालिकाका नागरिकमा भएको छ भने त्यसपछि बरहथवा, गोढैता नगरपालिकमा संक्रमण बढेको हो । बन्दाबन्दीलाई पालना नगरेका कारण संक्रमण बढ्दै गएकाले अब नगर क्षेत्रभित्र आवतजावतमा थप कडाइ गर्दै लैजाने बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतोले जानकारी दिनुभयो ।
असारको अन्तिम साता कोरोना संक्रमित हुनेको संख्या केही घटे पनि साउनमा आएर संक्रमितको संख्या बढ्दै गएको हो । ‘लकडाउन खुकुलो भएसँगै अहिले समुदायस्तरमा संक्रमण धेरै देखिएको छ, पछिल्लो समय औषधि पसले, किराना पसले गाउँ घरका नागरिकमा समेत कोरोना भाइरस संक्रमण देखिएको छ, ८९ जनको स्वाब परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भयो, बरहथवाबाट गएको शनिबार ३ सय ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौं, अझै २ सय जनाको रिपोर्ट आउन बाँकी नै छ, यहीअनुसार रिपोर्ट आए स्थिति भयावह हुने देखिन्छ’ –बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत सत्यनारायण यादवले बताउनुभयो ।
बरहथवा नगरपालिकाभित्र मात्रै पटक–पटक गरेर १ सय १५ जनाभन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिइसकेको छ । पछिल्लो समय बैंकका कर्मचारी, व्यापारी, जनप्रतिनिधि सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी हुँदै संक्रमण घरघरमा पुगेको हो । यसरी समुदायस्तरमै कोरोना संक्रमण बढे पनि गाउँघरका हाटबजारमा भीडभाड घटेको छैन ।