मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्यमा प्रधानमन्त्री


नेपाल समाचारपत्र, काठमाडौं
पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ । हालका केही मन्त्रीहरुलाई यथावत् राखेर दुई बर्षको अवधिमा राम्रो काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाउने तयारी उहाँले अगाडि बढाउनुभएको हो ।
यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरेफर गर्दै आउनुभएको छ । यस पटक कार्यदलमा सहभागी छ जनालाई नै मन्त्री बनाउने तयारी भएको बुझिएको छ । कार्यदलमा सहभागी हुनुभएका महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल रहनुभएको छ ।
शंकर पोखरेल प्रदेश नम्बर ५ को मुख्यमन्त्रीबाट राजीनामा दिएर संघीय मन्त्री बन्ने चर्चा शुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने गृहकार्य पनि पार्टीभित्र शुरु भएको नेकपाका एक स्थायी समिति सदस्यले बताए । उनका अनुसार पार्टीभित्र आन्तरिक गृहकार्य शुरु भएको छ एक साताभित्र संघ मन्त्री र प्रदेशका मुख्यमन्त्रीहरु हेरफेरको टुंगो लाग्छ ।
त्यसै गरी डेढ महिनादेखि पार्टीभित्र जारी विवाद समाधान गर्न सोमबार नेकपाले सचिवालय बैठक बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनालले सोमवारका लागि सचिवालय बैठक बोलाएको बताउँदै जारी समस्या समाधानको विषयमा छलफल हुने जानकारी दिनुभयो । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ ।
कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेताद्वय खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो। तीन नेताको माग बमोजिम सचिवालय बैठक बोलाइएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताउनुभएको छ । पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले काम समेत थालिसकेको भन्दै पार्टी एकता बलियो हुने विश्वास व्यक्त गर्नुभएको हो । कोभिडको नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनर्निर्माण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेस गर्ने उहाँले बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने बताउनुभयो । कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको बताउँदै उहाँले भन्नुभयो– ‘एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं, पार्टीभित्र केही विषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्नु उपयुक्त हुँदैन ।’