५० लाख ठगी गर्ने सिल्भा समातिए


काठमाडौं, (नेस)

आफू चिकित्सक भएको र नेपाली युवतीलाई बिहे गर्ने प्रलोभन देखाई ठगी गर्ने अंगोलाका एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

अफ्रिकन मुलुक अंगोलाका सिल्भा एन्टिनियो दा कोस्टाले सामाजिक सञ्जालको प्रयोग गरी आफू बेलायतको लन्डनस्थित बुपाक्याम्वाला अस्पतालको चिकित्सक भएको र नेपाल आएर तपाईंसँग विवाह गर्छु भन्दै नेपाली युवतीलाई ठगी गर्दै आएका थिए ।

कोस्टाले नेपाली महिलालाई मायाजालमा पारी विवाह समेत गर्ने भन्दै हीराको औंठी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्ड स्ट्रलिङ पठाएको भन्दै भन्सार छुटाउने नाममा ४८ लाख ६४ हजार ४ सय २० रुपियाँ ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

सिल्भाले राजधानीका केही महिलालाई आफ्नो मायाजालमा पारी ठगी गरेको पत्ता लागेपछि महाशाखाको टोलीले थप २० लाख भन्सार छुटाउनका लागि पैसा चाहिएको भन्दै ठगी गर्न लागेको बेला होटल सोल्टीबाट पक्राउ गरेको थियो ।

सो ठगको समूहले शुरुमा ती नाम नखुलाइएकी महिलालाई २० लाख लिएर बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएकोमा त्यहाँ सुरक्षा थ्रेट देखेपछि होटल सोल्टीमा ती महिलालाई २० लाख लिएर आउन आग्रह गरेको थियो ।
ती महिला पैसासहित होटल सोल्टीमा पुगेपछि अपराध महाशाखाको टोलीले सिल्भालाई पक्राउ गरी ऊ बस्दै आएको होटल ठमेलमा छापा मारेर विभिन्न सामान पनि बरामद गरेको छ ।
पक्राउ परेका सिल्भा गत फागुनमा नेपाल आएका थिए । उनले यसअघि पनि एक नेपाली युवतीसँग त्यसै गरी ३७ हजार ठगी गरेका थिए । उनले नेपालमा बसेर नक्कली नोटको कारोबारसमेत गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
प्रहरीले सिल्भाको साथबाट ३ लाख १५ हजार नेपाली, ९ सय अमेरिकी डलर, एटीएम कार्ड, कालो कागजको बन्डल, केमिकलहरुसमेत बरामद गरेको छ ।