एसईई परीक्षाफल भोलि


काठमाडौं, (नेस)
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।
बोर्डले मंगलबार वा बुधबारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ । स्रोतले अन्तिम तयारी गरिरहेको तथा भोलि मंगलबारभित्र गरिसक्ने नेपाल समाचारपत्रलाई बताएको छ ।
बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिका लागि सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषद्को बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब १० दिनअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने बताउनुभयो ।
बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको थियो । मन्त्रालयले समेत स्वीकृत दिएपछि परीक्षाफल प्रकाशित गर्न लागेको हो ।