त्रिविका आठ सहनियन्त्रकलाई धन्यवादसहित बिदाइ


ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले कामविहीन अवस्थामा रहेका ८ सह परीक्षा नियन्त्रकलाई बिदा दिएको छ । दुईवर्षे कार्यकाल सकिएका सह–नियन्त्रकलाई पूर्ववतः साविकको क्याम्पसमा हाजिर गर्न निर्देशन दिँदै बिदा दिएको हो ।
नेपाल समाचारपत्रले चार दिनअघि ‘भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय’ सम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले ८ जनालाई धन्यवादपत्रसहित बिदा दिएको हो ।
त्रिवि रजिस्ट्रार प्राडा पेशल दाहालद्वारा हस्ताक्षरित पत्रमा २०७३ भदौ २४ गतेदेखि हिजो आइतबारसम्म काम गरेका सबैलाई सफलताका साथ कार्यसम्पादन गर्नुभएकोमा धन्यवाद उल्लेख गर्दै पत्र दिइएको छ ।
पत्र पाएलगत्तै ८ जना सह–परीक्षा नियन्त्रकले आज सोमबादेखि साविकको क्याम्पसमा हाजिर गर्नुपर्नेछ । धन्यवादपत्र पाउनेहरुमा सहनियन्त्रक पशुपति अधिकारी, भूपालकुमार श्रेष्ठ, अखिलेश कुमार, विष्णुप्रसाद वाग्ले, अर्जुनविक्रम खड्का, तीर्थराज न्यौपाने, अर्जुनबहादुर भण्डारी र ईश्वरी शर्मा ढकाल छन् ।
रजिस्ट्रार कार्यालयले धनश्याम ठाकुरलाई भने यथावत् जिम्मा दिएको छ । उहाँ पछि नियुक्ति भएकाले यतावत् राखिएको जनाइएको छ ।
सह–नियन्त्रकमध्ये ईश्वरी शर्मा ढकाललाई सुदूरपश्चिम पनिकामा खटाए पनि लामो समयदेखि पनिका बल्खुमै कार्यरत हुनुहुन्थ्यो । उहाँ महिनाको एकपटक कर्मचारी र आफ्नो हाजिर प्रमाणित गरी तलब खुवाउनका लागि हस्ताक्षर गर्न मात्र अत्तरियास्थित कार्यालय पुग्ने गर्नुभएको स्रोतले बताएको छ । उहाँ वैद्य निकट प्राध्यापकको भागवण्डामा नियुक्त हुनुभएको थियो । सो विषयमा उहाँसँग जानकारी लिन खोज्दा सम्पर्कमा आउनुभएन ।
त्रिवि रजिस्ट्रार कार्यालयले हिजै चार जना क्षेत्रीय सहपरीक्षा नियन्त्रक नियुक्ति गरेको छ । रजिस्ट्रार प्राडा दाहालका अनुसार पूर्वाञ्चलमा नन्दकुमार न्यौपाने, पश्चिमाञ्चलमा मीना गुरुङ, मध्यपश्चिममा सुमन गौतम र सुदूरपश्चिममा ईश्वरीदत्त पन्तलाई नियुक्ति गरेको छ । पछिल्लो समय भागवण्डाले ध्वस्त त्रिविको पनिकालाई व्यवस्थित रुपमा चलाउन सहनियन्त्रकको संख्या घटाएको रजिस्ट्रार प्राडा पेशल दाहालले बताउनुभयो ।
डीन कार्यालयले सबै संकायको परीक्षा सेमेस्टर प्रणालीबाट सञ्चालन गर्न शुरु गरिरहेको अवस्थामा जम्बो सहनियन्त्रकको आवश्यकता नभएको उल्लेख गर्दैै ८ जना सहपरीक्षा नियनत्रकलाई बिदा दिएको हो ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बोस्कोटाले पनिकालाई थप व्यवस्थित गर्न र परीक्षा प्रणालीलाई मजबुत बनाउन सहनियन्त्रकलाई बिदा दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अब पनिकालाई सबै सेमेस्टर प्रणालीको परीक्षा सञ्चालन गर्न, बिग्रिएको साख जोगाउन पुनर्संरचना गर्ने तयारी गरेका छौं ।’ उहाँले केन्द्रमा दुई जना सहनिययन्त्रको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।
दुई कार्यकाल सकेपछि पनि थप एक वर्षसम्म लगातार सह–नियन्त्रक भएका सबैले पुनः नियुक्ति हुन शक्तिकेन्द्र धाउने गरेका थिए । सबैले अर्को निर्णय नभएसम्मको पत्र देखाएर करिब ५ वर्ष सहनियन्त्रक भएका थिए ।
सह नियन्त्रक हटाउने विषयमा त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्राडा शिवालाल भुसाल र परीक्षा प्रमुख एवं रजिस्ट्रार प्राडा दाहालबीच सहमति भएपछि रजिस्ट्रार कार्यालयले पत्र तयार गरेको थियो । त्रिविले पार्टीगत प्राध्यापकका संघ–संगठनलाई मिलाउन यति धेरै सह–नियन्त्रक नियुक्ति गरिएको पाइएको छ ।

त्रिविको सबै सेवा १५ दिनसम्म बन्द
त्रिभुवन विश्वविश्वविद्यालयले आज सोमबारबाट लागू हुने गरी सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारीको हिजो आइतबार बसेको बैठकले कोरोना संक्रमणको कारण कीर्तिपुरका अधिकांश वडा सिल भएको र केही क्षेत्र लकडाउन भएकाले हाललाई सबै सेवा १५ गतेसम्मका लागि बन्द भएको जनाएको छ ।
त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले अनलाइन कक्षा र घरबाट मिल्ने विद्युतीय सेवाबाहेक सबै काम बन्द गरिएको जानकारी गराउनुभयो । उहाँले त्रिविअन्तर्गत सबै डीनको कार्यालय, संस्थान, विभाग, निर्देशनालय क्याम्पसलगायत सबै निकायको काम बन्द गरेको जानकारी दिनुभयो ।
कोभिड संक्रमण बढ्दै गएकाले तत्कालका लागि सबै काम बन्द गरेको जनाएको त्रिविले हिजो आइतबारसम्म सबै कार्यालय खुला गरी महत्वपूर्ण काम गरिरहेको थियो ।