जनप्रतिनिधिलाई कोरोना जोखिम भत्ता


रौतहट, (नेस)
नगरसभा सम्पन्न गर्न चन्द्रपुर नगरपालिकाले सभाका सदस्यलाई कोरोना जोखिम भत्ता वितरण गरेको खुलेको छ । गत आर्थिक वर्षको असार १० गते नगरसभाको उद्घाटन गरेको चन्द्रपुर नगरपालिकाले गएको साउन २३ गते नगरसभा सम्पन्न गरेपछि सदस्यलाई कोरोना जोखिम भत्ता वितरण गरेको पाइएको छ ।

आर्थिक वर्ष सम्पन्न भई खाता सञ्चालनमा नरहेको अवस्थामा चन्द्रपुर नगरपालिकाले व्यक्तिसँग रकम सापटी लिएर सभाका सदस्यलाई कोरोना जोखिम भत्ता र यातायात खर्च वितरण गरेको हो । चन्द्रपुर नगरपालिकाका श्रेणीविहीन कर्मचारी दामोदर काफ्लेमाफत व्यक्तिसँग सापटी रकम लिएर ५३ जना जनप्रतिनिधि र सदस्य–सचिब (प्रमुख प्रशासकीय अधिकृत) सहित ५४ जनालाई करकट्टि गरेर ६ हजार ३ सय २५ रुपियाँ जोखिम भत्ता र बाटो खर्च भन्दै ६ सय ७५ गरी ७ हजार नगदको दरले वितरण गरेको छ ।

चन्द्रपुर नगरपालिका–९ स्थित नजरपुरमा रहेको निजानन्दधामको सभाहलमा चन्द्रपुर नगरपालिकाले सभाको उद्घाटन र समापन गरी दुई दिन सभा गरेको थियो तर जनप्रतिनिधिलाई सभा सम्पन्न गर्न सजिलोका लागि कोरोना जोखिम भता र बाटो खर्च भन्दै रकम बितरण गरेर हस्ताक्षर गर्न लगाई सभा सम्पन्न गरिएकोे एक जनप्रतिनिधिले बताए । यस्तै चन्द्रपुर नगरपालिकाले कर्मचारीलाई समेत नगरसभा सम्पन्न गरेको खुसीयालीमा रकम वितरण गरेको स्रोतले बतायो । सो नगरसभा सम्पन्न गर्न भुमिका खेलेको भन्दै चन्द्रपुर नगरपालिकाले ३८ जना कर्मचारी लाई १ हजार भत्ता र प्रत्येक कर्मचारीलाई ब्याग वितरण गरिएको बताइएको छ ।