अत्यावश्यकबाहेक सबै सेवा बन्द


बुद्ध नेपाली, सिन्धुली
सिन्धुलीमा कोरोना संक्रमितको दर बढ्न थालेसँगै जिल्लाका स्थानीय तहहरूले धमाधम अत्यावश्यकबाहेकका सेवा बन्द गर्न थालेका छन् ।
जिल्लामा अहिलेसम्म दुई नगरपालिका र दुई गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेका छन् ।
जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी र गोलन्जोर गाउँपालिकाले अत्यावश्यकबाहेक सबै सेवा र पसलहरू एक हप्तादेखि १५ दिनसम्म बन्द गरेका छन् । कोरोना संक्रमण समुदायमा फैलिन नदिन र नियन्त्रण गर्नलाई प्रभावकारी बनाउन कमलामाई नगरपालिकाले एक हप्ता सटडाउन गरेको छ । नगरपालिका कार्यालय तथा मातहतका सबै कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा गत साउन २७ गते राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरेको नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । एक हप्तासम्म औषधि, दूध पसल, एम्बुलेन्स, दमकल, सरसफाइ व्यवस्थापनबाहेकका सबै सेवा बन्द गरेको नगरप्रमुख खत्रीले बताउनुभयो ।
नगरप्रमुख खत्रीका अनुसार नगर क्षेत्रका मुख्य राजमार्गबाहेकका सबै सिमानाका सडक पूर्णरूपमा बन्द गरिएको छ । जिल्लाको सुनकोसी गाउँपालिकाले शुक्रबार राति १२ बजेदेखि आगामी भदौ १३ गतेसम्म १५ दिनका लागि अत्यावश्कबाहेकका सेवा बन्द गरेको छ । सुनकोसी गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले भदौ १३ गतेसम्म गाउँपालिका र मातहतका सबै कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वसिङ मुक्तानले जानकारी दिनुभयो । ‘गाउँपालिकाको विद्यालयमा कार्यरत सिराहाका एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन अत्यावश्यकबाहेकका सबै सेवा बन्द गराएका हौं ।’ –उपाध्यक्ष मुक्तानले भन्नुभयो । अत्यावश्यक सेवा अन्र्तगतका खाद्यन्न तथा तरकारी पसलहरु प्रत्येक दिनको ३ बजेदेखि साँझ ६ बजेसम्म ३ घण्टा मात्र खुला गर्न दिइने उहाँले बताउनुभयो ।
जिल्लाका कमलामाई, तीनपाटन, फिक्कललगायतका छिमेकी स्थानीय तहहरू र छिमेकी जिल्लामा समेत कोरोनाको संक्रमण फैलिरहेकाले दुधौलीमा पनि संक्रमण फैलिन सक्ने भन्दै अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । दुधौली नगरपालिका क्षेत्रमा साउन ३० गते शुक्रबार राति १२ बजेदेखि भदौं ६ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन बिहान १० बजेसम्म पसलहरू सञ्चालन गर्न पाइने र बिहान १० बजेपछि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गर्न आग्रह गरिएको नगर प्रमुख राउतले बताउनुभयो ।
गोलन्जोर गाउँपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि भदौ ५ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । गोलन्जोर गाउँपालिका–५ का एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले अत्यावश्कबाहेकका सबै सेवा एक हप्तासम्मका लागि बन्द गरेको हो । शुक्रबार मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सिन्धुली कोरोना संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।