टेलिकम म्याग्दीद्वारा गतवर्ष एक करोड २८ लाख राजश्व सङ्कलन


प्रताप बानियाँ, म्याग्दी ।

नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले गएको एक वर्षको अवधिमा करिब सवा करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा टेलिकम म्याग्दीले कुल एक करोड २८ लाख ९४ हजार दुईसय ९५ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

वायरलाइनतर्फ कुल एक करोड एकलाख ६५ हजार पाँचसय ३१ रुपैयाँ सङ्कलन गरेकोमा वायरलेसतर्फ २७ लाख २८ हजार सातसय ६४ रुपैयाँ राजश्व सङ्कलन गरेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ । वायरलाइन अन्तर्गत फाइबर टु दि होम अर्थात् (एफटिटिएच)तर्फ सबैभन्दा धेरै ३७ लाख १९ हजार पाँचसय ४७ रुपैयाँ राजश्व सङ्कलन भएको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पिएसटिएन अर्थात् ल्याण्डलाइनतर्फ ३५ लाख ९१ हजार नौसय नौ रुपैयाँ सङ्कलन भएको छ भने लिजलाइन (डेडिकेटेड)तर्फ १४ लाख ४८ हजार आठसय ३२ रुपैयाँ सङ्कलन भएको छ । यसैगरी एडिएसएलतर्फ १४ लाख पाँचहजार दुईसय ४२ रुपैयाँ राजश्व सङ्कलन गरिएको छ भने वायरलेसतर्फ जिएसएम पोष्टपेड र प्रिपेडको सबैभन्दा धेरै २१ लाख ९० हजार छ सय ४५ रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यस्तै वाईम्याक्सतर्फ चारलाख १८ हजार तीनसय एक रुपैयाँ राजश्व सङ्कलन गरिएको सूचना अधिकारी पुरीले बताउनुभयो ।

सिडिएमएतर्फ एकलाख १९ हजार आठसय १८ रुपैयाँ राजश्व सङ्कलन गरिएको छ भने एफटिटिएचतर्फ पुरानो भ्वाइस सिफ्ट ९ सय ७१ वटा गरिएको छ । त्यसैगरी ४ सय ८० वटा पुरानो डाटा सिफ्ट गरिएकोमा १ सय ९८ नयाँ डाटा कनेक्सन गरिएको छ भने ४७ ओटा न्यु भ्वाइस कनेक्सन गरिएको सूचना अधिकारी पुरीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार म्याग्दी सदरमुकाम बेनीबजारमा फाइबरबाट भ्वाइस सेवा लिएका ग्राहकहरु १ हजार १८ रहेकोमा फाइबर इन्टरनेट सेवा लिनेहरु ६ सय ७८ जना रहेका छन् ।

यसैबीच टेलिकम म्याग्दीको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाका ९० हजारभन्दा बढी सर्वसाधारणहरु सञ्चार क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएका छन् । २०६८ सालको जनगणनाअनुसार १ लाख १३ हजार ६ सय ४१ जनसङ्ख्या रहेको म्याग्दीमा गत आर्थिक वर्षसम्म कुल ९० हजार ३१ जना अर्थात् ८० प्रतिशत जनसङ्ख्या सञ्चार क्षेत्रमा आबद्ध रहेको टेलिकमले जानकारी दिएको छ । म्याग्दीमा टेलिकमको बिटिएसतर्फ मोबाइल टावर २६ रहेको छ भने सिडिएमएतर्फ ५ र वाईम्याक्सका ४ वटा टावरहरु सञ्चालनमा रहेको टेलिकमको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा टेलिकमको आफ्नै कार्यालय, क्याम्पसचोक, गलेश्वर, बराङ्जाको आलडाँडा र विममा रहेको टावरमार्फत इन्टरनेटको चौथो पुस्ता फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । अब छिटै बेनी नगरपालिकाको पुलाचौर, मालिका गाउँपालिकाको रुन्मा, ओखरबोट, मंगलाको अर्मन धारा, रघुगंगाको पाखापानी, धवलागिरीको ताकम र अन्नपूर्णको शिख घारको मोबाइल टावरको बिटिएसमा पनि फोरजी सेवा जडान गरी सञ्चालनको तयारी गरिएको कार्यालयको भनाइ छ ।