कोरोना नियन्त्रणमा १ करोड ५४ लाख खर्च


विनोदसिंह विष्ट, बैतडी
बैतडीको पुर्चौंडी नगरपालिकाले गत आर्थिक वर्षमा कोरोना नियन्त्रण तथा व्यवस्थापनमा १ करोड ५४ लाख ७२ हजार ३ सय ९६ रुपियाँ खर्च गरेको छ ।
नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री खरिद राहत वितरणलगायतमा खर्च गरेको नगरपालिकाका लेखापाल दलबहादुर धामीले जानकारी दिनुभयो । १० वटा वडा रहेको नगरपालिकामा सबै वडामा क्वारेन्टाइन निर्माण गरिएका र ती क्वारेन्टाइनमा भारतबाट फर्केका नागरिकलाई राखिएको थियो ।
यस्तै आइसोलेसन भवन निर्माणका लागि २२ लाख खर्च भएको छ भने भवन निर्माण कार्य जारी रहेको नगरपालिकाले जनाएको छ । कोरोना भाइरसका कारण भारतबाट रोजगारी गुमाएर स्वदेश फर्केकाहरूलाई पनि नाकाबाट नगरपालिकासम्म पु¥याउन खर्च गरिएको बताइएको छ । पुर्चौंडी नगरपालिकाले एकैपटक १ हजार बढी नागरिक क्वारेन्टाइनमा राखेको र क्वारेन्टाइन व्यवस्थापनमा बढी खर्च भएको जनाएको छ । कोरोना भाइरसका कारण पुर्चौंडी नगरपालिकाले विकास निर्माणका कामबाहेक अन्य शीर्षकको बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा रकमान्तर गरेको थियो ।
कोरोना भाइरसको जोखिम अझै पनि रहेकाले नगरपालिकाले आइसोलेसन निर्माणको काम जारी राखेको नगर उपप्रमुख जानकी बमले बताउनुभयो ।