१५ सय संक्रमित हुँदा ९ को मृत्यु


सरोज यादव, विराटनगर
प्रदेश–१ मा ६० हजार बढीको पीसीआर परीक्षण गर्दा १५ सय बढीमा कोरोना देखिई ९ जनाको मृत्यु भइसकेको छ । यो गत चैत १८ गतेदेखि बुधबार साँझसम्मको आँकडा हो ।
प्रदेश–१ को ५६ हजार ४ सय १६ र प्रदेश–१ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको बताउनुभयो । परीक्षण गरिएकामध्ये १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ । ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश–१ मा मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन् । मोरङमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका क्षेत्रभित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताउनुभयो । महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्याबले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघ संस्थाबाट लिइएको नमुना १ हजार ४ सय ८० रहेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश–१ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वाबको परीक्षण गर्न सक्ने क्षमता रहेको बताउनुभयो । झापाको मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो । मेचीको ल्याब सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताउनुभयो । प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाब होल्डमा रहेको बताउनुभयो । उहाँले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको बताउनुभयो ।

प्रदेश–१ मा कोरोना भाइरसबाट मृत्यु हुने ९ जनामा ६ जना प्रदेश–१ छन् भने ३ जना प्रदेश–१ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार मोरङको बूढीगंगा–२ का ५५ वर्षीय पुरुषको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । प्रदेश–१ मा बुधबार ४८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको हो । मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश–१ बाहिरका १ जना छन् । मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र कोशी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश–१ मा बुधबार ४ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ । बुधबार १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिँदा १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।