भक्तपुरमा कोरोना संक्रमितको संख्या ९३


पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ । जसमध्ये ५० जना कोरोनालाई जितेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारका अनुसार स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सूर्यविनायक नगरपालिका–४ दधिकोटका एकै परिवारका चारसहित आठ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
भक्तपुरमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको हुन सक्ने आशंका छ । मिजारले अत्यावश्यक काममा बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । काठमाडौंको सिनामंगलस्थित क्वारेन्टाइनमा बसेर दधिकोटस्थित घरमा फर्किएका एका परिवाका सदस्यहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसअनुसार ४४ वर्षीया आमा, २० र १५ वर्षीया दुई छोरी तथा तीन वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै मिजारले उनीहरु क्वारेन्टाइनमा बस्दा संक्रमितको सम्पर्क आएको हुन सक्ने बताउनुभयो ।
त्यसै गरी चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका श्रीमान्श्रीमती पनि संक्रमित भएका छन् । यात्रा विवरण नभएका ५४ वर्षीय श्रीमान् र ५३ वर्षीया श्रीमतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मध्यपुर थिमि नगरपालिका ४ नयाँ ठिमीकी यात्रा विवरण नभएकी ४८ वर्षीया गृहिणीमा पनि मंगलबारै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तराईबाट सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित छोराको घरमा आएका ६० वर्षीय बाबुमा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो सामान्य लक्षण आएपछि आठै जनाको परीक्षण गरिएको थियो।
मिजारका अनुसार अहिले आठै जना आआफ्नो घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको र ती क्षेत्रमा सिल समेत गरिएको कार्यालयले जनाएको छ ।